वातावरण

जलवायु परिवर्तन प्रस्तुतीकरण प्रतियोगितामा सेन्ट-जेभियर्सकी ढुंगेल प्रथम

काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसमा भएको तीनदिने काठमाडौँ उपत्यकाका अन्तर-कलेज जलवायु परिवर्तन सम्बन्धी प्रस्तुतीकरण कार्यक्रममा सेन्ट-जेभियर्स कलेजकी मिमान्सा ढुंगेल प्रथम भएकी छन् ।

कोटेश्वर बहुमुखी क्याम्पस— ग्रामीण विकास, समाजशास्त्र र आमसञ्चार तथा पत्रकारिता विभागका साथै रिसर्च म्यानेजमेन्ट सेल, एसक्यूसीको आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको सहकार्यमा पौष ११-१३ मा भएको तीन दिने जलवायु परिवर्तन सम्बन्धी अन्तर—क्याम्पस प्रतियोगितात्मक प्रस्तुतीकरणमा ढुंगेलले प्रथम ताज पहिरिएकी हुन् ।

‘एक्सन अगेन्स्ट क्लाइमेट चेन्ज’ नामक प्रस्तुतीकरणमा काठमाडौँ उपत्यकका १८ वटा क्याम्पसबाट २८ जना विद्यार्थीहरूले जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसलाई रोक्न गर्नुपर्ने प्रयासका विषयमा आ—आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

समापन कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका सभापति संजय बुढाथोकीले सहभागीले राम्रो प्रस्तुति दिएको भन्दै सबैलाई धेरै धेरै धन्यवाद भनेका थिए । वातावरणप्रतिको चिन्तन र चासो विद्यार्थी युवामा बढ्नु अत्यन्तै राम्रो भएको उनले बताए ।

क्याम्पस प्रमुख एवं पब्लिक क्याम्पस संघका क्याम्पस महासचिव गोविन्दबहादुर कार्कीले वातावरण बचाउका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले भने, ‘जलवायु मुद्धामा सहभागीको प्रस्तुतिले थप आँखा खोलिदिएको छ । काठमाडौँ ३० वर्ष अगाडि कस्तो थियो र आज कस्तो छ यहिँबाट मौसमको परिवर्तन र जलवायुको प्रभाव देखिन्छ ।’ उनले थप भने, ‘मानवीय कमजोरीले बढाएको वातावरण विनासले आज हामी यो अवस्था भोगिरहेका छौँ । आगामी दिनमा हाम्रो बानी परिवर्तन गर्न यो कार्यक्रम सफल भएको छ ।’

एसक्यूसी अध्यक्ष राजन कुँवरले जल्दोबल्दो मुद्धामा केन्द्रित यो कार्यक्रमले विश्वव्यापी बढ्दो तापमान नियन्त्रणमा भूमिका खेल्ने बताए । कार्यक्रमले हाम्रा व्यवहारहरुमा अवश्य परिवर्तन हुने उनको भनाई थियो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपालले विद्यार्थीको जलवायु परिवर्तन विरुद्धको यस्ता कार्यक्रमले नीति तहमा खबरदारी गरेको बताए ।

समापन कार्यक्रमको बीचमा लोकगायक तथा सर्जक कमलीकान्त भेटुवालले १६ वर्ष पूरानो ‘सबेरै बाख्रा उकाली लागे...घोर्ले बाख्रो खै भन हौ झम्के गुलेली...’ गीतले मनोरञ्जन गराएका थिए ।

कार्यक्रम निर्णायक मण्डलका प्रा. डा. सरोज अर्यालले प्रतियोगिताका प्रथम, द्वितिय, तृतिय अनि सान्त्वनाका उम्मेदवारहरु घोषणा गरेका थिए । जसमा सेन्ट जेभियर्सकी मिमान्सा ढुंगेल प्रथम, द्वितिय भएकी सोनिया कार्की ख्वप कलेज, तृतियमा पद्मकन्य क्याम्पसकी अस्मिता निरौला भइन् । उनीहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका थिए । कोटेश्वर बहुमुखी क्याम्पसकी छात्रा सालिन्ता मल्ल ठकुरीले सान्त्वना पुरस्कार जितिन् ।

प्रतियोगितामा प्रथम भएकी ढुंगेलले प्रतिश्पर्धा अनि प्राप्तिले आगामी दिनमा थप प्रेरणा पाएको बताइन् ।

समापन कार्यक्रमकी प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायकी डीन प्रा. डा.  कुशुम शाक्यले कार्यक्रम आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले थोरै भएपनि वातावरण सुधारमा ईंटा थप्ने बताइन् । उनले भनिन्, ‘प्रतिस्पर्धी २८ जनामा महिलाले नै यो सबै स्थान ओगट्नुले जलवायु परिवर्तन विरुद्ध महिलाको सजगता झनै उच्च रहेको इंगित गर्दछ ।’

‘कार्यक्रम गर्ने सोच थियो, सबैको साथ र सहयोगले पूरा भएको छ । यो कार्यक्रमले वातावरण सचेतनामा वृद्धि गराएको छ र आगामी दिनमा पनि समसामयिक मुद्धामा कार्यक्रमहरू गरिने छ’ कार्यक्रम संयोजक स्वरुप त्रिपाठीले बताए ।

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरु एकदमै हर्षित र उत्सुक देखिएका थिए ।

कोटेश्वर बहुमुखी क्याम्पस ग्रामीण विकास, समाजशास्त्र र आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख तथा कार्यक्रमका अध्यक्ष मनोज अधिकारीले कार्यक्रम समापन गर्दै विषयले समस्यालाई न्यूनिकरण गर्ने महशुष गराएको र सन्तुलित भविश्यको निर्देशन गर्ने बताए ।

तीन दिन सम्म चलेको प्रतियोगितात्मक प्रस्तुतीकरणको विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा. डा. भिम सुवेदीले विरुवामा पानी हालेर सुभारम्भ गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत