गाउँ सहर

आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपतिदेखि शीर्ष नेताहरूकाे यस्ताे छ शुभकामना

  • ९ पौष सोमबार, २०८० | ०७:४२:०० मा प्रकाशित

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । 

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । 

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठुला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन् । 

राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए । विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनको भनाई छ । 

‘क्रिसमस डे’ले सबैलाई एकजुट बनाउन सहयोग गर्ने उपराष्ट्रपति यादवको विश्वास

उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । उनले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

उपराष्ट्रपति यादवले ‘क्रिसमस डे’का अवसरमा जारी गरेको सन्देशमा  नेपालमा मनाइने अन्य पर्वहरू जस्तै प्रेम, हर्षोल्लास र एकजुटताका साथ मनाउने आनन्दमय सामाजिक र सांस्कृतिक उत्सव भएको उल्लेख गरेका छन् । उनले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र सांस्कृतिक पहिचान भएकामा एकता र एकजुटताको भावनालाई बढवा दिने विश्वास व्यक्त गरे । 

उपराष्ट्रपति यादवले भने, “यस पर्वले अन्य चाडपर्वमा जस्तै मानिसलाई दया, दान र स्वयंसेवालगायत कार्यका समावेश गराउँदै खुसी र सद्भाव फैलाउन प्रोत्साहित गर्दछ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।” खुसी, हर्ष र जोसका साथ मनाइने यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई थप प्रगाढ, बलियो र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरेका छन् । 

उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले उत्प्रेरित गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रूपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबिच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । 

२१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।  उनले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरू तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताएका छन् । 

चाडपर्वहरूले एकता र मेलमिलापको आधार गर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरे । सभापति देउवाले यी चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन् । 

उनले क्रिसमस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

 

तपाईँको मत