अर्थतन्त्र

बैंकले नियमविपरीत ब्याज लिए उजुरी गर्नुस् : गभर्नर अधिकारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले नियमविपरीत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् । 

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए ।

"बैंकहरूले नियमविपरीत ब्याज लिएको स्टेटमेन्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउँछौँ," उनले भने ।

राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियमबापतको चार अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराएको उल्लेख गरे । 

गर्भनर अधिकारीले व्यवसायीले बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे । गभर्नर अधिकारीले व्यवसायीहरुले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताए ।

उनले ठूला व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे। उनले बैंकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पारे ।

उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको उनको भनाई थियो ।

आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको उनले बताए ।

गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जामा समस्या आएको बताए । उनले राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताए। गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताए। उनले व्यवसायीहरुले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गरे। उनले दक्षिण एशियामा अन्य देशको हेरेर नेपालका बैंकहरुको खराब कर्जा कम रहेको बताए ।

गाउँ सहर संवाददाता

Keshab Rayamajhi लेख्नुहुन्छ १५ मङ्सिर, २०८० ६:१५ pm

के गर्ने? कृषि बिकास बैंक ले ब्यापारीलाई ऋण दिन मिल्छ त अधिकारी ज्यु। छानबिन गर्न सक्नु हुन्छ?

तपाईँको मत