गाउँ सहर

चितवनकाे माडीमा नेपालकै अग्लो चक्रशीला स्थापना

  • १० मङ्सिर आइतबार, २०८० | ०९:४०:०० मा प्रकाशित

चितवन । चितवनको माडीमा नेपालकै अग्लाे चक्रशीला (शालिग्राम) स्थापना गरिएको छ। पर्वतको कुश्माबाट ल्याइएको चक्रशीला माडीको खैरहनीमा रहेकाे चक्रतीर्थ धाममा राखिएको हाे ।

१२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशीला कुश्मा नगरपालिका–१ सहश्रधारामा रहेकाे कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताए ।

याे शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताए । उनले पर्वतबाट रथयात्रामार्फत चक्रशीला माडी ल्याइएको बताए ।

नेपालमा कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उनले चक्रशीला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताए । 

स्थानीय कृष्णबहादुर रानाभाटले देश–विदेशमा रहेका माडीवासीको सहयोगमा चक्रशीला स्थापना गरिएको बताए । उनले यस क्षेत्रलाई चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको भन्दै क्रमशः अन्य संरचना निर्माण हुने जानकारी दिए । उनले माडीका धार्मिक क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताए । 

माडीमा एक दर्जनभन्दा बढी धार्मिक क्षेत्र रहेका छन् । पछिल्लो समय माडीमा राम मन्दिरसमेत स्थापना भएपछि धार्मिक पर्यटक बढेका छन् ।रासस

तपाईँको मत