राजनीति

श्रीमती र भाउजूहरुलाई सांसद बनाएका कारण जनतामा निराशा, नेता गलत हुन्, व्यवस्था होइन

काठमाडाैं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग भएकाले पनि जनतामा वितृष्णा बढाउने काम गरेको भएकाे बताएका छन् ।

नेपाली कांग्रेसले कावासोतीको डण्डामा बुधबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै थापाले संविधानले सबै वर्गको संसद्‌मा प्रतिनिधित्व होस भनेर समानुपातिक निर्वाचन प्रणाली संविधानमा राखिए पनि नेताहरुले पैसामा बेचेर सांसद बनाउने गरेको टिप्पणी गरे ।

'श्रीमती र भाउजूहरुलाई सांसद बनाएर समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरेका छन् । यो निर्वाचन प्रणाली फेर्ने बारेमा अब कांग्रेसले नै बहस र छलफल चलाउन आवश्यक छ,' उनले भने ।

'नेता गलत हुन्, व्यवस्था होइन,' उनले भने, 'संविधानलाई लिकमा हिँडाउने भन्दा पनि दुरुपयोग गरेर श्रीमती र भाउजूहरुलाई सांसद बनाएका कारण जनतामा निराशा छाएको छ ।'

महामन्त्री थापाले पीडामा रहेका मानिसलाई संगठित गरेर दुरुपयोग गर्ने शक्ति देखा परेको टिप्पणी गरे । पछिल्ला दिनहरुको राजनीतिक गतिविधिलाई लक्षित गर्दै महामन्त्री थापाले उक्त टिप्पणी गरेका हुन् । 

‘मानिसहरुको पीडा जसको बारेमा हामीले चिन्ता गर्नुपर्ने नै छ। त्यसको कति दोषी हामी पनि छौँ, चर्चा गरौँला। तर यसलाई संगठित गरेर यसलाई दुरुपयोग गर्ने शक्ति हामी देख्दैछौँ,’ उनले भने । 

त्यसअघि थापाले जनता पीडामा रहेको सत्य रहे पनि व्यवस्था नै गलत भन्ने तर्क गर्नेहरुसँग सचेत हुन पनि अपिल गरेका छन् । 

‘नेपाली कांग्रेसका प्रत्येका साथीले एउटा कुरा ख्याल गर्नुपर्नेछ।  मानिसहरु रिसाएका छन्। असन्तुष्टि छन् । त्यसका जायज मागहरु छन्। त्यसको चिन्ता गर्नुपर्ने छ । चिन्तन गर्नुपर्नेछ। तर केही समूह, व्यक्ति, पात्रहरुसँग हामी सचेत हुनु पर्नेछ । सर्तक हुनु पर्नेछ कि असन्तुष्टिलाई संगठित गरेर त्यसबाट यो व्यवस्था, हाम्रो विचार, जसका लागि हामीले संघर्ष गर्‍यो यसलाई गलत हो भनेर लागेका छन्,’ उनले भने । 

यस्तै, महामन्त्री थापाले त्यस्तो समूहले आम मानिसलाई प्रतिनिधित्व नगर्ने पनि उल्लेख गरेका छन् । 

उनले वर्तमान सरकारले काम गर्न नसकेको भन्दै अब चाँडै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गरे । 'यो सरकारले जनचाहनाअनुसार काम गर्न सकेन,' थापाले भने, 'सरकार भनेको जनताको काम गर्न बनाइन्छ । वर्तमान सरकार प्रचारबाजीमा रमाएर जनताको काम गर्नै सकेको छैन ।'

भेलामा बोल्दै थापाले जनताले शासन गर्ने म्यान्डेट कांग्रेसलाई दिएकाले अब त्यो जिम्मेवारी पूरा गर्ने दायित्व कांग्रेसको भएको बताए ।

गाउँ सहर संवाददाता

Chandramani Bhujel लेख्नुहुन्छ ९ मङ्सिर, २०८० ०८:४७ am

ज्वाईं ससुरा शालासाली भाइ भतिजा भान्जा भान्जी कि श्रीमती कि श्रीमान हुनैपर्ने त्यसपछि गर्लफ्रेन्ड कोकसका दिन आएनन् ?

तपाईँको मत