गाउँ सहर

भाइटीकासँगै सकियो यसपालीकाे तिहार, विदेशी पर्यटकले पनि लगाए

  • २९ कार्तिक बुधबार, २०८० | २१:०५:०० मा प्रकाशित

काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (बुधबार) दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्त्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।  

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्  तोयराज नेपालले जानकारी दिए ।

भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्परा अनुसार आज सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ । टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । 

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा आजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । 

विदेशी पर्यटकले पनि लगाए

पोखरामा रहेका पर्यटकहरूलाई तिहारको अवसरमा भाइटीका लगाइएको छ । होटल संघ पोखराले आयोजना गरेको भाइटीका महोत्सवमा विदेशीहरू सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपीमा सजिए ।

यो वर्ष विभिन्न १६ देशका ६८ पर्यटकले टीका लगाए । युके, अमेरिका, जर्मनी लगायत देशका पर्यटक सहभागी भएका महोत्सव संयोजक तथा होटल संघकी सचिव पार्वती पाण्डेले जानकारी दिइन् । उनका अनुसार पर्यटक प्रवर्द्धनसँगै संस्कृतिको विस्तार गर्न पनि महोत्सव फलदायी भएको छ । 

त्यसैगरि, पर्यटकीय नगरी तनहुँ स्थित बन्दीपुरमा घुक्न आएका बिदेशी पर्यटकले उल्लासका साथ भाइटीका लगाएर नेपालीको महान चाड तिहार मनाएका छन् । 

द दरबार हिमालय क्लासिक होटलले भाइटीका लगाउने चाँजोपाँजो मिलाएपछि बिदेशीले तिहार मनाउन पाएका हुन् । बन्दीपुरका दिदीबहिनीले टीकासँगै माला, ढाकाको टोपी लगाइदिएका थिए । 

हरेक वर्ष बन्दीपुरमा घुम्न आउने पर्यटकलाई भाइटीका लगाउने व्यवस्था मिलाइएको र अधिकांश सहभागी हुनेगरेको बन्दीपुर पर्यटन विकास समितिका निर्बतमान अध्यक्ष बइस गुरुङले बताए । 

यस्ता भाइटीकाले गर्दा संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिइएको गुरुङको भनाइ छ । सो भाइटीकामा १५ जना बेलायतका पर्यटक सहभागी भएको गुरुङले जानकारी दिए ।

तपाईँको मत