खेल

नेपालका लागि युएईलाई हराउँदै बदला लिएर विश्वकप खेल्ने अवसर

काठमाडौं । नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । यो खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना फेरि अधुरै रहनेछ ।

घरेलु मैदानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो ।

समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बन्दा नेपाल दुई जित र एक हारको नतिजा सहित समूह उपविजेता बन्यो । उता युएई समूह ‘बी’ का तीन वटै खेल जितेर समूह विजेता बन्यो ।

नेपालसामु ओमानलाई हराउँदै सेमिफाइनलमा युएईलाई छल्ने र बहराइनसँग खेल्ने अवसर थियो । तर ओमानसँग अन्तिममा चुक्दा युएईसँग खेल्ने समीकरण बन्यो ।

अझ नेपालले सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल्नुपर्ने भयो । ओमान र बहराइन बीचको सेमिफाइनल भने टीयू मैदानमा हुनेछ ।

नेपाल र युएईबीच पछिल्ला दुई वर्षभित्र धेरै महत्वपूर्ण प्रतियोगितामा निर्णायक खेलमा भिडेका छन् ।

२१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी-२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । ८ महिनाअघि नेपालले कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो ।

यस्तै एक साता अघि मात्रै नेपाल र युएईबीचको त्रिकोणात्मक शृंखलामा फाइनल भयो जहाँ युएई विजयी भयो ।

अब एउटा अर्को महत्वपूर्ण खेलको नजिक आइपुगेको छ । यहाँबाट एक टिमले मात्र अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपको टिकट काट्नेछ । त्यसैले दुवै टोलीलाई यो खेलको उत्तिकै महत्व छ ।

विजयी हुने टिम टी-२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै टी-२० विश्वकपमा पनि छनोट हुनेछ । पराजित हुने टिमले विश्वकप पुग्दा केही वर्ष पर्खनुपर्नेछ ।

डेढ वर्षअघि ओमानमा भएको टी-२० विश्वकप ग्लोबल क्वालिफायरको निर्णायक सेमिफाइनलमा पनि नेपाल युएईसँग नै पराजित हुँदा विश्वकप पुग्नबाट बन्चित भयो ।

नेपाल-यूएईबीच भेट

टी–२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ८ खेल भएका छन् । जसमा दुवै टिमले ४-४ खेल जितेका छन् ।

नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी–२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २–१ ले जितेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

त्यसपछि २०२२ मा भएको चार देशीय टी–२० सिरिज र टी–२० विश्वकप छनोटमा नेपाल युएईसँग पराजित भएको थियो ।

यस्तै टी-२० विश्वकप छनोटअघि भएको त्रिकोणात्मक शृखंलामा नेपाल र युएईबीच फाइनल सहित तीन खेल भएका थिए । जसमा लिग चरणका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो र फाइनलमा भने युएई विजयी भएको थियो ।

मुलपानी मैदानमा भएको लिग चरणको खेलमा नेपाल ७ विकेट र ५ विकेटले विजयी भएको थियो तर टीयू मैदानमा भएको फाइनलमा भने युएईले नेपाललाई ४ विकेटले हराएर शृखंलाको उपाधि जितेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत