खेल

उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच फाइनल खेल आज हुँदै

  • १० कार्तिक शुक्रबार, २०८० | ०७:३९:०० मा प्रकाशित

 काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच फाइनल खेल आज हुँदैछ । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् ।

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो ।

डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।

नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

यही कात्तिक १३ देखि काठमाडौंमै सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जितेर छनोटका लागि राम्रो तयारी गर्ने योजनामा नेपाल छ ।

युएईसँग हेड टु हेड

टी–२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।

नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी–२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २–१ ले जितेको थियो ।

पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

त्यसपछि २०२२ मा भएको चार देशीय टी–२० सिरिज र टी–२० विश्वकप छनोटमा नेपाल युएईसँग पराजित भएको थियो ।

तपाईँको मत