दीपेश र अर्जुनकाे उत्कृष्ट प्रदर्शन, ३०१ रनले साउदीलाई हराउँदे नेपाल सेमिफाइनलमा
- गाउँ सहर संवाददाता
- २ कार्तिक बिहीबार, २०८० | १२:३४:०० मा प्रकाशित
काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल समूह ए मा ३ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।
जितको लागि ३ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेविया १९.१ ओभरमा ४६ रनमा अल आउट भयो । साउदीका बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए ।
मोहम्मद अहमद ९ रनमा अल आउट भए । अब्दूल्लाह शिराजले २६ बलमा ९ रन बनाए । साउदीका १० ब्याटरले नेपालको बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका दीपेश कँडेलले ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिए । आकाश चन्दले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सुवास भण्डारीले एक विकेट लिए ।
त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो । नेपालको जितमा अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेले । योसँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बन्दै इतिहास रचेका छन् । अर्जुननै खेलको प्लेयर अफ द म्याच चुनिए ।
यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन कुशल मल्लको नाममा थियो । कुशल मल्लले केहि साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।
अर्जुनले यसअघि गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । अर्जुन नेपालबाट ओपनरको रुपमा यू१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् । कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा अर्जुनको यो उच्च प्रदर्शन हो ।
नेपाललाई पहिलो विकेटका लागि अर्जुन कुमाल र दीपक बोहराले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दीपक ३७ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए ।
दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाश त्रिपाठीले १ सय ६२ बलमा १ सय ८९ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरका थिए ।
अर्जुन ३९ औं ओभरको तेस्रो बलमा अहमद राजालाई सर्ट खेल्ने धुनमा मोहम्मद अहमदबाट क्याच आउट भएका थिए । लगत्तै कप्तान देव खनाल डक आउट भए ।
आकाशले ९८ बलमा ६ चौका र २ छक्कासहित ८९ रन बनाउँदै आउट भए । दीपक डुम्रे १४ र मिलन बोहरा ९ रनमा आउट भए । नेपालका दीपेश कँडेलले १४ र विशाल विक्रम केसीले २४ रन बनाए ।
साउदी अरवियाका मोहम्मद अहमद र अहमद राजाले दुई दुई विकेट लिए । जुहैर मोहम्मद शजिव मुजिबुर रहमानले एक एक विकेट लिए ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । सेमिफाइनल कार्तिक ५ गते (अक्टोबर २२) मा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि कार्तिक ७ (अक्टोबर २४) मा प्रतिस्पर्धा हुनेछ ।
नेपालले सेमिफाइनलमा समूह डी को विजेतासँग खेल्नेछ । समूह डी को विजेता शुक्रबार निर्धारण हुनेछ । समूह डी मा जापान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।
हङकङ २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । इन्डोनएसिया २ खेलमा अंक विहीन हुँदै बाहिरिएकोछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
प्रतिकृया दिनुहोस