गाउँ सहर

नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाँदै

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।

दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको हो । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ। 

गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् । घरफिर्तीका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा नेपाली नागरिकको उद्दारमा नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुलाई बोलाई त्यसको जानकारी लिएका थिए । साथै आज कुनै हालतमा पनि जहाज पठाउन निर्देशन गरेका थिए।

गाउँ सहर संवाददाता

तपाईँको मत