गाउँ सहर

आज संविधान दिवसः ६७० जना कैदीको कैद माफी मिनाहा

काठमाडौँ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।

उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत