दृष्‍टिकोण

वैचारिक दर्शन, नीति र सिद्धान्तमा राप्रपाकाे अडान

माता सीता र भगवान बुद्धको पवित्र जन्मभूमि नेपालको सभ्यता र इतिहास वास्तवमै गौरव गर्न लायक छ । मंगोलहरुको संस्कृति, किरातहरुको विरता, मिथिला सभ्यताको विरासत, सिम्रौनगढको वैभवसाली संस्कृति, सिँजा राज्यको साहस, गौरवमय नेवारी परम्परा र वस्तुकला अनि संस्कृतिको संयोजनको स्वरुप नेपाल हो । यो सम्पूर्णलाई एउटै मालामा उनेर एक राष्ट्र बनाउने आफ्नो परिकल्पनालाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहाले साकार तुल्याए ।

राप्रपाको राष्ट्रियताको अवधारणाले राष्ट्रमा रहेको विविधताविच एकता कायम गर्ने छ । यहि दृष्टिकोण समावेशि राष्ट्रियता हो । राज्य शक्ति र राज्य संचालनमा सबै क्षेत्र र जातजातिको समानुपातिक पहुँच कायम गर्ने लक्ष्य दृढताका साथ राप्रपाले लिएको छ । पुराना संस्थाहरु र यिनमा निहित मानवतावादी संस्कृतिको प्रयोग र रुपान्तरण समावेशी राष्ट्रियताको आधारस्तम्भ हो ।

धर्म र संस्कृति जिवन्त राष्ट्रका पहिचान हुन् । सदियौँदेखि सनातन हिन्दु राष्ट्र रहिआएको नेपालले पछिल्लो समयसम्म विश्वको एकमात्र हिन्दुराष्ट्र भनेर आफ्नो स्पष्ट पहिचान कायम गरेको थियो । ९२ प्रतिशत भन्दा बढि जनता सनातन धर्मावलम्बी भएको नेपाललाई जबर्जस्ती ढंगमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो । घोषणा मात्र गरिएन कि हाम्रो सदियौँ देखिको महत्त्वपूर्ण पहिचान समेत मेटाइयो ।

यो संविधान बन्दै गर्दा संविधानसभामा राप्रपाले धर्मनिरपेक्षको प्रावधान हटाउन संशोधन दर्ता नगरेको हैन तर राप्रपाको आकार सानो भयको कारण त्यसको सुनुवाइ त्यससमय भएन । यसर्थ यो संविधानसँग हाम्रो आलोचनात्मक सम्बन्ध छ ।

यहि संविधान निर्माणमा पनि कतिपय विषयहरुमा हाम्रो समर्थन पनि रह्यो यसर्थ यसको संशोधन हाम्रो माग हो । संविधानले नेपाललाई गणतन्त्र, धर्मनिरपेक्ष र संघियतामा पहिचान दिइरहँदा हामीले हाम्रो विधानमा वा कुनै पनि आधिकारिक दस्तावेजहरुमा यसलाई स्थान दियका छैनौँ । हाम्रो भनाइ र मागलाई कार्यान्वयन गराउन जनतालाई साथमा लिएर हिड्ने हाम्रो मुख्य नीति हो ।

हाम्रो गौरवसालि इतिहास, सनातन धर्मसंस्कृति र राजसंस्थाको जगमा खडा रहेर यो सताब्दीकाे समृद्ध नेपाल बनाउने हाम्रो प्रतिवद्धता हो ।

जनताको आधारभूत मानव अधिकार सुरक्षित गरि, स्वतन्त्रता र समानताका आधारलाई सुदृढ तुलाउने, देशको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रतालाई अक्षुण राखि सवल र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो परिकल्पना हो । नेपाललाई द्रुततर गतिमा विकास गरि यहाको अथाह सम्पदाको सदुपयोगबाट आधुनिक र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो उद्देश्य हो ।

संविधाका केही प्रावधानहरु प्रति हाम्रो असहमतिको बाबजुद संवैधानिक व्यवस्थासँग सहकार्यको आधारमा लोकतन्त्रको संरक्षण तथा सुदृढीकरण गर्ने र स्वतन्त्र एवं सक्षम न्याय प्रणालीद्वारा कानुनी राज्य कायम गर्ने लक्ष्य र उद्देश्य लियको राप्रपा प्रजातन्त्र मात्र हैन बहुलवादी प्रजातन्त्रमा विश्वास गर्छ।

मानवजातीको उच्चतम आदर्शमा निहित न्याय,समानत र मानवतामा अडेको नेपालकै सनातन धर्म, संस्कृति, परम्परा, इतिहास र संस्थागत निरन्तरतालाई संवर्धान वादको रुपमा लिन्छौं भने आर्थिक राजनीतिक र प्रतिस्पर्धात्मक अर्थतन्त्र तथा बहुलवादी प्रजातन्त्रमा आधारित सशक्तिकरणका कारण संस्थागत प्रक्रियालाई प्रगतिशील उदारवादको रुपमा हेर्छौँ ।यो चिन्तनको संमिश्रण र संयोजन हामिले भनेको उदारवाद हो । यो चिन्तनले हामी यस्तो नया समाज बनाउँछौँ जहाँ जनतालाई गरिबबाट मुक्त गराउन सरकार सक्रिय रहन्छ । जहाँ परम्परा र आधुनिकता बीच विभेद नभइ समानता हुन्छ । जहाँ प्रतिस्पर्धाको नाममा निस्कने असमानतालाई नियन्त्रण पनि गरिन्छ । जहाँ राज्यले जनतालाई मुख बन्द हैन बहस गर्न प्रोत्साहन गर्छ । राज्यबाट जनता डराउने हैन, सुरक्षित महसुस गर्छन् । मुलुकको इतिहास, जातजाति र भुगोललाई संगाल्छौँ । धनी संस्कृतिको विरासत जोगाउँछौँ । धर्मको मानवतावादी दृष्टिकोणलाई मान्यता दिँदै त्यसलाई हाम्रो चरित्र र आचरणको जग मान्छौँ । परम्परागत संस्थालाई आदर र कदर गर्छौँ ।

यो सबैले बनेको हाम्रो परिचय नेपाली हो । यो परिचयलाई संरक्षण गर्दै मुलुक चलाउने हाम्रो दर्शन उदारवाद हो । यो एक राजनीतिक दर्शन हो । यसले जनताको व्यक्तिगत स्वतन्त्रता र सबै जनताबीच समानताको वकालत गर्छ । प्रजातन्त्र, आवधिक निर्वाचन, मानव अधिकार, समानता र स्वतन्त्रताको समष्टिगत विकास यसको रुप हो । हरेक व्यक्तिलाई संरक्षण गर्दै पूर्ण क्षमता हासिल गराउने र एकले अरुको हक हनन नगरि स्वतन्त्रतापूर्वक जिउन पाउने अवधारणा उदारवादले दिन्छ । सबैविच समानता कायम गर्दै, आर्थिक र समाजिक विवेध हटाउने, कलंकको रुपमा रहेको छुवाछूत जस्तो प्रथालाई सदाको लागि अन्त्य गर्ने र अवसरमा समानतालाई सरकारि कर्तव्य ठान्छ उदारवादले ।

छोटकरीमा हाम्रो उदारवादले ठूलो माछाले सानो माछालाई खान दिँदैन, सानो माछालाई ठुलो बनाएर प्रतिस्पर्धामा उतारिन्छ । बहुमतले शासन गर्छ अल्पमत प्रतिपक्षमा रहन्छ तर अल्पमतको पूर्ण सम्मान गरिन्छ । वाक स्वतन्त्रता यसको प्राण हो । आर्थिक, समाजिक र राजनीतिक सुरक्षा सरकारले गर्छ उदारवादमा।

बजारमा स्वस्थ प्रतिस्पर्धा हुन दिन उदारवादले सबैखाले कार्टलिङ, सिन्डिकेट र मनोपलि खारेज गर्दै उद्याेग र व्यापारीक क्षेत्रका सबै झँझटिला प्रक्रिया हटाउँछ । मुख्य भ्रष्टाचारलाई शून्य सहनशीलतामा स्थापित गर्छ । यसमा शिक्षा र सीप विकासको दायित्व सरकारको हुन्छ, गरिबी न्यूनीकरण र जीवनस्तर सुधार्ने दायित्व सरकारले नै लिन्छ । आज देखिएको सरकारी प्रशासनमा दलिय हस्तक्षेपको कारण मुलुकको राजनीतिक अवस्था खस्किएको छ । हामी प्रशासनमा हस्तक्षेपको 'ह' पनि रुचाउँदैनौँ ।

मलुक निर्माणमा उल्लेख्य योगदान गरेको, युद्धमा परिवारका सदस्य समेत गुमाउँदा पनि विचलित नभइ नेपाल एकिकरणको अभियानमा अग्रपंक्तिमा बसेर लडेका, प्रजातन्त्र प्राप्तिको निमित राजगद्दी दाउमा लगाएका, मुलुकलाई नयाँ विकास आयाममा प्रवेश गराएका, विश्व सामु हामी शान्ति चाहान्छौँ भन्ने प्रस्ताव पेश गरेका, विदेशीको एक इसारा मानेको भए सदाको निमित्त पाइने सत्तासमेत परित्याग गरेका राजगद्दी परित्याग गर्दा समेत हाँसी हाँसी पत्रकार सम्मेलन गर्न सक्ने अदम्य साहस बाेकेका शाह वंशिय परम्परागत राजसंस्था राप्रपाको आस्था हो । यसमा हामी अविचलित छौँ । राप्रपा सम्पूर्ण रुपमा राजसंस्थावादीहरुको पार्टी हो । हामी छेपारोको रुपमा हैन चट्टनको रुपमा यसको पक्षमा छौँ ।

आजको परराष्ट्र नीति केवल सत्ता जोगाउन केन्द्रीत छ हामी बडामाहाराधिराजको दिव्य उपदेश र वर्तमान अवस्थाको समेत सम्मिश्रणमा परराष्ट्र नीति हुनुपर्छ भन्नेमा दृढ छौँ । नेपाल दुई ढुंगाबीचको तरुल भन्ने उक्तिलाई अग्गाल्दै योसँग सहकार्य गर्दछौँ ।

आजको राजनीति केवल सत्ताको निमित मात्र बन्दै गइरहेको छ । नीति, सिद्धान्त र विचारबाट च्युत भएकाहरुको हातमा मुलुक संचालनको साचो बारम्बार पुग्दा देश थप बर्वाद हुँदै गइरहेको छ । वर्तमानलाई विश्लेषण गर्ने हो भने हाल विपरित विचारका दलहरु बीचको गठवन्धन केवल सत्ता र स्वार्थको निमित्त मात्र हो । यहाँ आफ्ना गलत हर्कतहरु लुकाउन गठवन्धनको नाममा ठगहरुको बन्धन बनाइएको छ । लुट, ढाँट र छलको बन्धन हो यो । गठबन्धनको निर्णय पनि गठबन्धनले गर्दैन, सिटको बाँडफाँडदेखि भावि प्रधानमन्त्रीसमेत विदेशीले चयन गरिदिन्छ । यसको विरुद्धमा बलियो उपस्थितिको आज आवश्यक छ । यो आवश्यकताको खाडल केवल राप्रपाले मात्र पूर्ति गर्न सक्छ तसर्थ हामी उठ्नपर्छ, जाग्न पर्छ ।

०४६ पछि हालसम्म राजनीतिमा क्रियाशील नेताहरुको सम्पत्ति छानविन गरौँ हामी तयार छौँ भनेर चुनौती दिने डा. प्रकाशचन्द्र लोहनी, भ्रष्टाचार गरेर खानुहुँदैन भन्दै हिड्ने अध्यक्ष राजेन्द्र लिङदेन, विद्वान एवं सर्वकालीन नेता पशुपतिशमशेर जबरा, भद्र एवं सालिन व्यक्तित्व पूर्व प्रम लोकेन्द्रबहादुर चन्द, लगायत काविल नेताहरुले नेतृत्व गरेको राप्रपाको अनिवार्य आन्दोलनमय उपस्थिति आजको आवश्यकता हो । (पाठक राप्रपाका निर्वाचित केन्द्रीय सदस्य हुन् ।)

तपाईँको मत