गाउँ सहर

आत्महत्या रोकथामका लागि पत्रकारहरूकाे महत्वपूर्ण भूमिका रहन्छ : मनाेविद

  • २५ भदौ सोमबार, २०८० | ०६:३१:०० मा प्रकाशित

काठमाडौं । आत्महत्या रोकथामका लागि पत्रकारहरूकाे महत्वपूर्ण भूमिका रहेकाे मानसिक स्वास्थ्यमा काम गर्ने मनाेविद तथा पत्रकारहरूले बताएका छन् । 

अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार काठमाडौंमा 'आत्महत्या रोकथाममा पत्रकारको भुमिका' विषयक एक दिने कार्यशालामा बोल्दै मनोविद्हरूले यस्तो बताएका हुन् । 

मनोविद् डा.नरेन्द्रसिंह ठगुन्नाले मानसिक स्वास्थ्यसम्बन्धि कतिपय समाचारहरू कतिजना मरे कसरी मरे भन्ने ढंगले आउने हुँदा त्यस्ता खालका समाचार अर्थात सूचनामुखी समाचारभन्दा राेकथाम र समाधानमुखीमा पत्रकारकाे ध्यान जानुपर्नेमा जाेड दिए । विशेष गरि यू-ट्यूवहरूमा त्यस्ता खालका समाचारहरू, भिडियाेहरू आउने हुँदा त्यसकाे असर परिवार र समाजमा नकारात्मक हुन जाने भनाई छ ।

मनोविद् डा.ठगुन्नाले मानसिक स्वास्थ्य समस्याको कारणले आत्महत्याका घटना हुने गरेको भन्दै स्थानीय तहसम्मै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताए । उनले गरिबी, अशिक्षा र वैदेशिक रोजगारको कारणले परिवारमा विखण्डन आउँदा आत्महत्याका घटना बढेको बताए । उनले राज्यका निकायहरुले मानसिक स्वास्थ्य साक्षरताबारे समुदायलाई जानकारी गराउनुपर्ने बताए । 

पत्रकार, मनाेविद वा अन्य काेही एक्लाेले यस्ता घटना राेक्न नसकिने भन्दै डा. ठगुन्नाले स्थानीय सरकारमार्फत विद्यालय, कलेज, स्वास्थ्य संस्थालगायत विभिन्न समुदायमा रहेकाहरूलाई संयुक्त रूपमा तालिम दिनुपर्नेमा जाेड दिए। 

आत्महत्या रोकथाम सबैको सामाजिक दायित्व भएको भन्दै डा ठगुन्नाले आत्महत्याको जोखिम भएका व्यक्तिमध्ये करिब ९० प्रतिशतलाई पहिचान गर्न सकिने बताए । आत्महत्या रोकथामका लागि मनका भावनालाई अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने डा.ठगुन्नाको भनाई छ ।

मनोविद् पदमराज जोशीले आत्महत्या रोकथाममा समाज, शिक्षक, प्रहरी र समुदायको भूमिका रहने बताए । उनले आत्महत्या रोकथाममा कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्ने बताए । 

जोशीले प्रत्येक स्थानीय तहले सचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताए । उनले सरकारले मानसिक स्वास्थ्य रणनीति बनाएपनि त्यो कार्यान्वयनमा आउन नसकेको बताए । सहरीकरणले इच्छा आकांक्षा बढ्दै जाने र इच्छा आकांक्षा समयमै समाधान हुन नसके व्यक्तिमा तनाव सृजना हुने बताए । उनले व्यक्तिले जहिलेपनि सकारात्मक सोच राख्नुपर्ने बताए ।

सहभागीहरुले आत्महत्या रोकथामका लागि समाजमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष आत्महत्याका कारण आठ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने अनुमान छ । मनोविद्हरु आत्महत्याका समाचारको रिपोर्टिङ तथा सम्प्रेषणमा संवेदनशील र उत्तरदायी हुन आवश्यक रहेको बताउँछन् । 

समाचार माध्यामले प्रयाेग गर्ने शीर्षक, भाषा, प्रकाशन र प्रसारण गर्ने शैलीले जनमानसमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले त्यस्ता संवेदनशील विषयमा सबेका ध्यान पुग्नुपर्नमा सहभागी सबैकाे एकमत थियाे ।

काठमाडाैं महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष सुमन श्रेष्ठले मानसिक समस्या अहिलेकाे अवस्थामा विकाराल स्वरूपमा फैलिँदै गएकाले यसका लागि न्यूनिकरण गर्न स्थानीय तह सराेकारवालासँग सहकार्य गरेर अघि बढ्न तयार रहेकाे प्रतिबद्धता व्यक्त गरे । 

अन्तरध्वनी नेपालकी अध्यक्ष जमुना शर्माले घर घरमा सुसूषप्त ढंगले विभिन्न रूपमा बढिरहेकाे मानसिक समस्या अहिले समाजकाे ठूलाे समस्याकाे रूपमा देखा परेकाेले यस्ता विषयमा खुलेर कुरा र काम गर्नुपर्नेमा जाेड दिइन् ।

कार्यक्रममा प्राडा. अजय रिसाल, डा. पिताम्बर भण्डारि, पत्रकार नारायण ढुङ्गाना, प्रहरी निरीक्षक कृष्ण गिरिलगायतले आ-आफ्ना धारणा राखेका थिए ।

तपाईँको मत