अर्थतन्त्र

चालु आर्थिक वर्षको साउन महिनामा १८ अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात

काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा १८ अर्ब रुपियाँ बराबरको झन्डै दुई लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनामा १७ अर्ब ७९ करोड ४३ लाख रुपियाँ बराबरको एक लाख ९१ हजार ७९६ किलोलिटर (पेट्रोल, डिजेल, मटितेल, ग्यास हवाई इन्धन) आयात भएको हो । अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत इन्धन आयात कमी भएको हो ।

अघिल्लो वर्षको साउन महिनामा २१ अर्ब ९८ करोड रुपियाँको इन्धन आयात भएको थियो । बजारमा खपत कम हुँदा आयातमा कमी आएको हो । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण विकास निर्माणका काम कम हुँदा गत वर्षदेखि नै इन्धनको खपतमा कमी हुँदै आएको थियो ।

विभागका अनुसार साउन महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपियाँ बराबरको ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएको छ । पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपियाँको ५६ हजार ९०१ किलोलिटर पेट्रोल आयात भएको छ । एक अर्ब १७ करोड ९४ लाख १० हजार रुपियाँको १२ हजार ५४८ किलोलिटर हवाई इन्धन आयात भएको तथ्याङ्क छ । यस्तै तीन अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको ४५ हजार ६३१ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । पेट्रोलियम पदार्थको आयातबाट सात अर्ब २८ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ ।

निगमका अनुसार आव २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत