अर्थतन्त्र

फराकिलाे खाडल : साउन महिनामा एक खर्ब २९ अर्बको आयात, जम्मा १३ अर्बको मात्रै निर्यात

  • ७ भदौ बिहीबार, २०८० | ०७:१७:०० मा प्रकाशित

काठमाडौं । चालुु आर्थिक वर्षको पहिलो साउन महिनामा एक खर्ब २९ अर्ब रुपियाँको सामान आयात हुँदा १३ अर्ब रुपियाँको सामान निर्यात भएको छ । 

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपियाँ बराबरको निर्यात भएकामा अहिले घटेर १३ अर्ब ५२ करोड ८६ लाख रुपियाँ बराबरको सामान निर्यात भएको तथ्याङ्क छ । 

साउनमा आयात पनि १.५६ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा एक खर्ब ३१ अर्ब २८ करोडको वस्तु आयात भएकामा गएको चालु आवको साउन महिनामा एक खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको हो ।

वैदेशिक व्यापार समग्रमा २.२८ प्रतिशतले घटेको छ । गत साउनमा एक खर्ब ४६ अर्ब नौ करोड रुपियाँको वस्तु आयात भएकामा यस वर्ष साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड रुपियाँको निकासी भएको छ ।

व्यापार घाटा गत वर्षको भन्दा ०.६६ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा एक खर्ब १६ अर्ब ४७ करोडको व्यापार घाटा भएकामा यस वर्ष एक खर्ब १५ अर्ब ७१ करोड रुपियाँ बराबरको व्यापार घाटा भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

साउन महिनामा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपियाँ बराबरको ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएको छ । पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपियाँको ५६ हजार ९०१ किलोलिटर पेट्रोल र तीन अर्ब २२ करोड ८७ लाख रुपियाँको एलपी ग्यास आयात भएको छ । तीन अर्ब ७४ करोड ७२ लाख २८ हजार रुपियाँको आइरन आयात भएको छ । 

तीन अर्ब ३६ करोड ५१ लाख ४५ हजार रुपियाँको स्टिल, दुई अर्ब ८६ करोड ८४ लाख रुपियाँको स्मार्ट फोन आयात भएको विभागको तथ्याङ्क छ ।  

  

तपाईँको मत