कला

ढुंगानाको ‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक बिमोचन

काठमाडौं । साहित्यकार तथा संचारकर्मी गोपीकृष्ण ढुंगानाद्वारा सम्पादित ‘शब्दबिम्बमा सत्यमोहन’ कृति सार्वजनिक गरिएको छ । भुँडीपुराण प्रकाशनकाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गरिएकाे हाे । 

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीमाथि विभिन्न समयमा फरक फरक व्यक्तिहरूद्वारा लेखिएको लेख–रचनाहरूको सँगालोको रुपमा रहेको उक्त कृतिको लोकार्पण कार्यक्रम शताब्दी निकट पुगिसकेका बरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको प्रमुख आतिथ्यता एवं भुँडीपुराण प्रकाशनका अध्यक्ष केशव पराजुलीको सभापतित्व तथा गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, बरिष्ठ कथाकार माया ठकुरी, समालोचक साहित्यकार प्रा. डा. ज्ञानु पाण्डे साहित्यकार समालोचक प्रा. डा. लेखप्रसाद निरौला तथा शताब्दी पुरुष सत्यमोहन जोशीका छाेरा अणुराज जोशीको आतिथ्यतामा कृति सार्वजनिक गरिएकाे हाे । 

बरिष्ठ पत्रकार तथा लेखक रिसालले सत्यमोहन जोशीद्वारा नेपाल भाषा एकेडेमी स्थापना गर्ने बेलाको प्रसङ्ग उल्लेख गर्दै रेडियो सगरमाथामा आफूले संचालन गर्ने गरेको ‘उहिलेको बाजेको पालामा’ नामक कार्यक्रममा सत्यमोहन जोशीसँग अपर्झट रुपमा लिनुपरेको अन्तर्वार्ता सन्दर्भ स्मरण गर्दै सत्यमोहन जोशी अमृतघडा जस्तै रहेकोले उनका बारेमा अझ धेरै कृति तयार पार्न सकिने बताए ।

समालोचक प्रा. डा. लेख प्रसाद निरौलाद्वारा भाषिक, सांस्कृतिक एवं लोकजीवनका पर्यायका रुपमा चिनिएका तथ दीर्घकालिन मानवीय जीवन बाँचेका सत्यमोहन जोशीको बारेमा लेखिएको कृतिले उनलाई जीवन्त तुल्याउन यथेष्ट भूमिका निभाउने बिचार ब्यक्त गरे ।

प्रा.डा.ज्ञानु पाण्डेले एकपटक प्रकाशित भइसकेका सामग्रीलाई संकलन र सम्पादन गरि गोपीकृष्ण ढुंगाना तथा प्रकाशन गृहले पुनः पुस्तकाकारका रुपमा ल्याइ दिएर सत्यमोहनका बारेमा शोध अनुसन्धान गर्न चाहनेहरुका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुने बताइन् ।

गोरखापत्रका पूर्वप्रधान सम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सबैलाई उत्प्रेरित गर्ने पात्रका रुपमा परिचित सत्यमोहन जोशी जीवित संग्रहालय हुन् भन्दै सत्यमोहन जोशी अनुकरणीय ब्यक्तित्व रहेकोबारे प्रकाश पारेका छन् ।

कार्यक्रममा सत्यमोहनका बारेमा जान्न बुझ्न चाहनेहरुका लागि समाचार, लेख रचना सम्पादकीय अन्तर्वार्ता फोटो तथा स्केचसहितको सन्दर्भ सामग्री रहेको ४२० पृष्ठको कृति ‘शब्द बिम्बमा सत्यमोहन’ रोचक रहेको बताइएको थियो ।

समयले सत्यमोहनलाई जन्मायो सत्यमोहनले समय बनाए भन्दै कृतिका सम्पादक तथा संचारकर्मी गोपीकृष्ण ढुंगानाद्वारा कार्यक्रमको औचित्य र आवश्यकताका बारेमा प्रकाश पार्दै उपस्थितलाई स्वागत गरेका थिए ।

सरोज घिमिरे स्रष्टाद्वारा आकर्षक रुपमा संचालन गरिएको उक्त कार्यक्रममा सत्यमोहनका सुपुत्र अणुराज जोशीले चिन्तन गरेर चिनिएका आफ्ना पिताकाबारेमा कृति प्रकाशित गरिदिनु भएकोमा आभार ब्यक्त गरे ।

सभाध्यक्ष तथा भुँडीपुराणका प्रमुख केशव पराजुलीद्वारा कृति प्रकाशनकाबारे प्रकाश पार्दै आफ्नो संस्थाले शताब्दी पुरुषकाबारेमा कृति प्रकाशन गरि सम्मानित गर्न पाउँदा खुशी लागेको बिचार व्यक्त गर्दै उपस्थित सम्पूर्ण स्रष्टाप्रति आभार व्यक्त गरे ।

तपाईँको मत