कला

पौडेलको उपन्यास ‘चरिमाइ’ बिमोचन

काठमाडाैं । शताब्दी साहित्य प्रतिष्ठान तथा इण्डिगो इन्क प्रकाशनकाको आयोजनामा नेपाली साहित्यिक क्ष्रेत्रमा अनवरत तल्लिन रही कथा, कविता, गीत, मुक्तक, हाइकु लेखि साहित्यका विवध विधामा कलम चलाइरहेकी साहित्यकार अन्जना पौडेलको उपन्यास ‘चरिमाइ’ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरि बिमोचन गरियो ।

कवि तथा समालोचक प्रा. डा. बेन्जु शर्माको प्रमुख आतिथ्यता तथा शताब्दी साहित्य प्रतिष्ठानकी उपाध्यक्ष रन्जु दाहालको सभापतित्व एवं विशेष अतिथी कथाकार प्राज्ञ माया ठकुरी तथा प्रा. डा. ज्ञानु पाण्डे, विश्लेषक ज्ञाननिष्ठ ज्ञवाली एवं साहित्यकार बमबहादुर थापा जितालीको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख अतिथी लगायत सभाध्यक्षले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गरि औपचारिक रुपमा शुरू गरिएको उक्त कार्यक्रममा अतिथीहरुलाई रुद्राक्षको माला खादा लगायतले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा समालोचक तथा साहित्यकार तर्कना शर्माद्वारा स्वागत मन्तव्य राखिएको थियो ।

कार्यक्रममा औपन्यासिक कृतिबारे प्रकाश पार्दै प्रा. ज्ञाननिष्ठ ज्ञवालीले अक्षरको खेतीका क्रममा सृजनाको माध्यमबाट उचित शिल्पको प्रयोग गरेर अन्जना पौडेलले पाठकलाई जीवन जगत र समाज बदल्नका लागि चेतनाको विकास हुनुपर्ने अनि मात्रै मानव तश्करका रुपमा रहेका सामाजिक रोगबाट उन्मुक्तिका लागि सफल हुने बिचार ब्यक्त गरेका छन् ।

मन्तव्यका क्रममा अर्का वक्ता प्रा. डा. ज्ञानु पाण्डेले अन्जना पौडेलको उपन्यास स्थलगत रुपमा अध्ययन गरेर लेखिएको उपन्यासको रुपमा रहेकोले यसका कथानकको प्रमुख उद्देश्य समाज बदल्ने कर्म निरन्तर चलिरहनु पर्ने बताउँदै सामाजिक आर्थिक र बौद्धिक रुपमा बिपन्न र सामाजिक महारोगका रुपमा ब्याप्त रहेको चेलीबेटी बेचबिखनका बिषयबस्तुलाई कथानकका रुपमा प्रस्तुत गरिएको उक्त उपन्यास नेपाली साहित्यिक क्षेत्रका लागि साथै खोजमूलक र तथ्यात्मक जानकारीका लागि उपयोगी हुने बताइन् ।

त्यसैगरि विद्यावारिधिका क्रममा रहेकी उपन्यासकार अन्जना पौडेलले चेतनास्तरको कमिको साथै आर्थिक र सामाजिक कमजोरीका कारण आफ्नाबाटै बम्बैमा बेचिएका हजारौँ दिदीबहिनीहरुको न्यायको लागि तीनको सामाजिक आर्थिक सम्मानका लागि ‘चरिमाइ’ लेखिएको बताउँदै स्वतन्त्र रुपमा जन्मिएका मानिस समाजले अनैतिक र कानूनले दण्डनीय मानेको गैरकानूनी क्षेत्रमा शरीरको ब्यापार गरेर नारकीय जीवन बाँच्नु परेका ती हजाराैँ नारीप्रतिको ज़िम्मेवारी र कर्तव्यका लागि ‘चरिमाइ’ लेखिएको तर राजनैतिक पहुँच र आर्थिक सम्पन्नताका कारण अपराधबाट उम्किने समाजका अपराधी आफ्नो उपन्यासको केन्द्रबिन्दु रहेको बताइन् ।

उक्त कार्यक्रममा कथाकार तथा प्राज्ञ माया ठकुरीले औपन्यासिक कथानक समाजको लागि जघन्य अपराध हुँदाहुँदै पनि सामान्य रुपमा बुझिनु नहुने बताउँदै समाजमा पाप र धर्मको ख्याल नहुँदा यस्ता मानव तश्करी तथा बेचबिखनका बिषयबस्तुलाई समेत सामान्य रुपमा ब्यवहार गरिएको तर उपन्यासकार पौडेलले यस्ता सामाजिक बिषयबस्तुमा कलम चलाएर सामाजिक उत्तरदायित्व निभाएकोमा उनको प्रशंसा गर्दै कीर्ति सफलताको कामना गरिन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेकी प्राज्ञ बेन्जु शर्माले दैनिक रुपमा सुनिने पढिने हिंसा र बलात्कार तथा मानव बेचबिखनका बिषयमा खोजमुलक र सशक्त रुपमा कलम कलम चलाएर उपन्यासको रुपमा आउनु समाज सुसूचित हुने अवसर समेत हो भन्दै चरिमाई उपन्यासले नेपाली पाठकहरुको मन तान्न मद्धत गर्ने विश्वास गर्दै कीर्ति सफलताको शुभकामना ब्यक्त गरिन् ।

तपाईँको मत