गाउँ सहर

उपचारका लागि राष्ट्रपति पौडेललाई नयाँ दिल्ली लगियाे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्ली लगिएको छ । अहिले केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लगिएको हो ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ । राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि ६ दिन अघि मात्र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए । 

तर, स्वास्थ्य समस्या बढेपछि उनलाई मंगलबार बिहान फेरि अस्पताल भर्ना गरिएको थियो ।

“उहाँले यसअघि पनि सोही अस्पतालमा चेक गराइरहनुभएको हुँदा र अहिले सोही समस्या लगातार देखिएपछि नेपाल र भारतका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको हो,” राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

राष्ट्रपति पौडेललाई विदाई गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत