ब्लग

'सकम्बरी' गीतप्रति डा. रेणुकाकाे टिप्पणी : योनीसँग जोडेर इज्जतको लेक्चर दिने तिमी को हौ ?

प्रकाश सपूत मैले अत्यन्तै मन पराएको कलाकार हुन् । कलाकार मात्र नभएर राज्यकै गौरव हुन् । उनको कालाकारिताको पाटोले प्राय: सबैको हृदय पगाल्छ नै । यस्ता व्यक्तित्वले किन शरीर बेच्ने महिलाका कथा र त्यस्तै चरित्रलाई जबर्जस्त उजागर गरेर भाइरल हुन खोज्छन् म बुझ्दिनँ । भर्खरै भाइरल भयो भनिएको "सकम्बरी" शीर्षकको गीत कसैले समाजको यथार्थ चित्रण भएको सत्यतथ्यमा आधारित भएको भनेका छन् भने कसैले महिलालाई उपभोग्य वस्तु बनाएर नारीद्वेषी शब्द संयोजनमा तयार पारिएको भन्ने सवाल उठाएका छन् । कुनै पनि विषयमा स्वस्थ तर्क वितर्क गर्नु आफैँमा राम्रो पक्ष हो किनकी यसले विचार माझिन्छ र सत्य झल्किन्छ अनि टल्किन्छ पनि । तर तर्क गर्दै गर्दा न्वारानदेखिको बल निकालेर पेल्न खोज्नुभनेको भेडापारा मात्र हो ।

आमाले छोरी नै छोरी जन्माएको निहुँमा बाउले रक्सी पिउँदै भकुरेको देख्दा अनि अर्की स्वास्नी लिएर हिँडेको देख्दा घरपरिवार र आफ्नो भविष्य बनाउने योजना अनि लक्ष्य लिएर शहर पसेकी हो फुलमाया । सपूत आफैँ फुलमायालाई लिएर शहर आउँछ । फुलमायाको बालव्यक्तित्व हेर्दा एउटी गाउँकी अवोध नाबालिका मात्रमा सीमित छैन ऊ,महिलाप्रति समाजले हेर्ने दृष्टिकोण बदल्ने चेत छ ऊसँग । छोरीमात्र जन्मनुमा आमाको मात्र के दोष छ र सजाय उनलाई मात्र हो ? भन्ने हेक्का छ । ती नै अपहेलित आमा अनि बाउ जिउँदै हुँदा पनि टुहुरासरह भएका बहिनीहरूसहितको पेट भर्न, शिक्षादीक्षा जस्ता कुरा परिपूर्ती गर्न अनि आफ्नै समेत उज्जल भविष्य खोज्न कलाकारिताको क्षेत्र समाउने जस्तो जिम्मेवारी बोध गरेर परदेसिन सहास राख्ने फुलमायालाई यात्राको शुरुवातीमा नै बसको सिटमा दाजु साइनोको त्यो सपुतले हत्केला र तिघ्रा मुसार्दा जुरुक्क उठेर गालामा जुत्ताको डाम बसाइदिने सहास किन आएन ? आएन वा देखाइएन ? जसले आफ्नै जन्मदिने बाउले रक्सिको सुरमा आमा पिट्दा त्यो हिंसा हो भन्ने बोध भएर प्रहार गरेकी छे, ढलाइदिएकी छे । एकातिर आफ्नो बाउलाई समेत नछोडेकी फुलमायामा हिँसा सहनुभनेको हिँस्रकलाई प्रश्रय दिनु हो भन्ने चेत भएकी सहासी केटी भन्ने देखाइएकी छ भने अर्कोतिर त्यो चरम हिँसाको प्रतिवाद गर्न किन सहास गर्दिन ? बाजेपुस्तादेखि नाति पुस्तासम्मले गिजोल्दा पनि कसरी चुपचाप बस्न सकी ? बाउले आमालाई पिट्दा हिंसा हो भन्ने जानकार फुलमायाको चेतले किन पत्तो पाएन कि आफूमाथि चरम हिँसा भइरहेको छ भन्ने कुरा । ती हिंस्रक हरेक पुरुषलाई गालामा डाम बस्ने गरी झापड हान्न किन सकिन ? महिलाहरू कमजोर हुन्छन्, जे गरे पनि चुपचाप सहन्छन्, कलाकार बन्न रहर गर्ने छोरीहरूले बेश्या बन्न तयार हुनुपर्छ भन्न खोजिएको हो कि के हो यो प्रसङ्ग ? चरित्रहीन् भएपछि राजनीतिमा लाग्छन् महिलाहरू भन्ने सन्देश के हो ? एउटा सर्जक त्यो पनि राज्यले मानेकोले समाजप्रति जिम्मेवार हुनुपर्छ कि पर्दैन ? के कलासाहित्य पनि समाज रुपान्तरणको सिकाइ सामग्री होइन र ? साहित्य र कलाले समाजमा गहन विचार प्रवाह गर्छ र विचारले समाजलाई सहिदिशानिर्देश गर्छ भन्ने सन्देश कता पोलेर निल्यौ ?

कलाकारिताको क्षेत्र अत्यन्तै नराम्रो छ,यो क्षेत्रमा नाम र दाम कमाउनलाई महिलाले शरीर ओच्छ्याउनै पर्छ भन्ने भाष्यलाई चिर्दै यहाँ सुन्दर अवसर पनि छ र यदि दुर्गन्ध छ भने पनि हामी सफा गर्छौँ भन्ने चुनौती मोलेर होमिन चाहेका सामर्थ्यवान छोरीचेलीलाई उत्साही बनाउँछ कि हतोत्साही, के यो कुरा कसैले सोचेको छ ? बल्ल बल्ल यो क्षेत्रमा काम गर्न घर परिवारलाई कन्भिन्स गरेर सकसले अनुमति पाउन थालेका थिए छोरीहरूले । यस्तै भिडियो देखाइरहने हो भने कुन अभिभावकले छोरीलाई यो क्षेत्रमा लाग्न सजिलै दिन्छ अब ? अनि आफ्नो कलाकार बन्ने रहर मार्नुभन्दा आफैँ मर्नु जाती भनेर किशोरावस्थाका छोरीहरूले बन्द कोठाभित्र नै जीवन अन्त्य गरिदिए भने त्यसको जवाफदेही को हो ?

यहाँ धेरैले भनिरहेका छन् - यो समाजको तितो सत्य हो, समाज यस्तै छ, अन्तिममा गएर दह्रो विरोध जनाएकी छ त फुलमायाले, ......... के नारीले सत्य बोल्न लाखौँको ओच्छ्यान भएर कमाएपछि मात्रै सहास आउँछ हो ? गाउँघरको रोटोपिठोले तागत लाग्दैन? यहाँ के भन्न खोजिएको हो? यदि समाजको यथार्थ चित्र उतारिएको हो भने त्यहाँ रहेका पुरुषहरू यो समाजक प्रतिनिधि पात्र हुन् ? त्यसो हो भने के हामी बलत्कारीको देशमा सास फेरिरहेका छौँ हो ? के हाम्रा दाजुभाइ, बुबाकाका, छोरा भतिज सबै बलत्कारी हुन् ? कुन समाजको चित्र हो यो ? के यो समाजमा सज्जन पुरुष छैनन् ? कि समाज बलत्कारीहरूको मात्रै हो ? मलाई अचम्म लाग्छ ; जसले फुलमायालाई गाउँबाट शहरसम्म ल्याउँछ, काम मिलाइदिने प्रलोभनमा सम्बन्ध ओठबाट एकैचोटी योनीसम्म पुर्‍याउँछ, उसैले बुलाकी कहाँबाट आयो ? झुम्काना कसले किनिदियो ? रातो स्कूटर कसले दियो ? तेरो गलामा बैँस कहिलेसम्म टिक्छ ? जस्ता प्रश्न गर्ने नैतिकता कहाँबाट पायो ?

यसरी नै हेर्ने हो भने बेश्यागमन गरेपछिको शुल्क तिर्ने पुरुषको कमाइ के हो त ? रक्सी खाएर दिनरात जुवातास खेल्ने उसको आम्दानी कहाँबाट आयो ? अहिलेका गाउँले नारीहरू नै पनि कुखुरापालन गरेर, खेती किसानी गरेर, साना मझौला व्यापार व्यवसाय वा उधोगधन्दा चलाएर नै भए पनि आत्मनिर्भर हुने जमर्कोमा छन् । शहर बजारका छोरीहरू अब छोरासरह विज्ञ बन्न थालिसके र उत्तिकै क्षमतावान छन् । अबका महिलालाई कसैले किन्दिनुपर्दैन ती झुम्काना सुम्काना । आफ्नै पसिनामा आत्मनिर्भर बाँच्न सिक्दैछन् । के ती महिला होइनन् ? कि आफ्नै कमाइमा बाँच्न थालेपछि पुरुष नै भए ती सबै ? यहाँ धेरै जनाले रत्नपार्क, बसपार्क र ठमेलको सवाल उठाएका छन् । तिमी आफू त्यहाँ नपुगी कसरी बुझ्यौ त्यहाँको कथा? त्यहाँ पुगेर त्यही दल्दलमा डुबेपछि के तिमी चाहिँ चोखै रह्यौ ? रत्नपार्क, बसपार्क, अनि ठमेलका कुरा गर्छौ नि ! त्यहाँ योनी ओच्छ्याएर बस्ने मात्र देखेका छौ कि दुधे बालक काखमा र कोक्रोमा बोकेर मकै पोल्दै गरेका अनि बदाम बेच्दै गरेका महिला पनि देखेका छौ ? हुन त जे खोज्छौ त्यही भेट्ने त हो ? त्यो भन्दा बाहिर पनि नेपाल छ भन्ने पनि हेक्का राख । विभिन्न प्रलोभनमा पारेर यौन शोषण गरे बापत कानुनी कठघरामा ठिङ्गुर्‍याउँनुपर्नेमा उही युवतीको योनीको इज्जतका सम्बन्धमा सवाल गर्ने तिमी कुन् मर्द हो ए नामर्द ? महिलाको योनीसँग जोडेर इज्जतको लेक्चर दिने तिमी को हौ ? त्यही योनीसँग रुमल्लिँदा तिम्रो लिङ्ग जुठो भएन ? आफैँ बेश्यागमन गर्ने अनि बेश्यालाई मात्र बदनाम गरिरहने तिमीलाई कसले दियो अधिकार ? एक पटक ऐनामा आफ्नो सिङ्गो शरीर हेर, योनीमा मात्रै इज्जतको भारी कोचेर उन्मुक्ति  नखोज महाशय ।

तपाईँको मत