दिगोविकास

राष्ट्रपतिमा कसले बाजी मार्ला ? यस्ताे निर्वाचन इतिहास

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि राष्ट्रप्रमुखको निर्वाचन आज हुँदै छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(एमाले) का उमेदवारले प्रतिष्पर्धा गर्दै छन् । 

निर्वाचन प्रक्रिया अहिले बिहान १० बजेबाट संघीय संसद् कार्यालय बानेश्वरमा सुरु हुँदै छ । निर्वाचन आयोगले १० बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ । नतिजा आजै सार्वजनिक गर्ने आयोगले जनाएको छ । नतिजा सार्वजनिक हुनेबित्तिकै नेपालले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउनेछ ।

निर्वाचनमा ८८२ मतदाताले भाग लिने आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा उल्लेख गरिएको छ । 

नेपाली कांग्रेसबाट उमेदवारको रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । यस्तै, नेकपा(एमाले)को तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उमेदवार छन् । कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई आठ दलले समर्थन गरेका छन् ।

कांग्रेस बाहेक नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले सहयोग गरेका छन् ।

यता, एमाले उमेदवार सुवास नेम्वाङलाई भने अन्य दलले सहयोग गरेका छैनन् । 

राष्ट्रपतिमा दुवै उमेदवार पूर्वसभामुख हुन् । २०५१ सालको संसद्मा कांग्रेस नेता रामचन्द्र पौडेल सभामुख बनेका थिए । यस्तै, नेम्वाङ २०६४ र २०७० को संविधान सभा अध्यक्ष हुन् । उनी ०६३ मा पुनर्स्थापित संसद्को सभामुख हुन् । 

 

यस्ताे छ राष्ट्रपति निर्वाचन इतिहास

मुलुकमा  २०६२-६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने  व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए । 

पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गरे । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गरे । संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरुबीच यदी सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो ।

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो ।

उक्त निर्वाचनमा सङ्घीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेकामा सङ्घीय संसद् सदस्य तीन २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना (९७.५१ प्रतिशत)ले मतदान गरेका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचनमा आठ जना (०.९३ प्रतिशत) को मत बदर भएको थियो ।

सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत