गाउँ सहर

वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि निगरानी र तत्काल पक्राउ गर्न निर्देशन

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाविरुद्ध कानुनविपरीत हुने जुनसुकै गतिविधि र त्यसमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने भन्दै बैङ्क तथा वित्तीय संस्थाविरुद्ध योजनाबद्ध रूपमा अभियान सुरु गरेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।  नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले त्यस्ता गतिविधिले आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । 

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई परिपत्र जारी गरी बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीमाथि नियोजित रूपमा दुव्र्यवहारका घटना बढ्न थालेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाई अवाञ्छित क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको थियो । 

गृह मन्त्रालयले सुरक्षा व्यवस्था बलियो बनाई तथा त्यस्ता गतिविधि गर्नेमाथि कडा निगरानी गर्न सुरक्षा निकायलाई समेत निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैङ्क तथा वित्तीय संस्थाविरुद्ध कुनै गतिविधि गरी सार्वजनिक सेवामा असर पुग्ने गतिविधि भए संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा ब्याज नतिर्न र माग्न आएमा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंको नेतृत्वमा कालोमोसो अभियान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले कालोमोसो अभियानका जिल्ला संयोजक शम्भु थापालाई बुधबार भरतपुरबाट पक्राउ गरेको छ । चितवनमा भएको एक कार्यक्रममा थापालाई कालोमोसो अभियानका संयोजक घोषणा गरिएको थियो । प्रसाईंले बैङ्क तथा वित्तीय संस्थाविरुद्ध जाइलाग्ने गरी छुट्टै दस्ता खडा गरी कानुन हातमा लिने प्रयास गरेको पाइएपछि प्रहरीले प्रसाईंका प्रत्येक गतिविधिमा समेत कडा निगरानीमा राखेको छ ।

कानुनले बर्जित गरेका गतिविधिलाई अभियानको भ्रम फैलाएर वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भन्दै तर्साउनेमाथि समेत निगरानी बढाइएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत