कृषि

शहर छाडेका राई दम्पती गाउँमै कृषिकर्ममा रमाउँदै

  • २४ फाल्गुण बुधबार, २०७९ | ०९:१८:०० मा प्रकाशित

खाेटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपाका सुमन राई सात वर्षअघिसम्म राजधानी काठमाडौँमा होटल व्यवसाय गर्थे । काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पबृक्ष’ सञ्चालन गर्दैआएका उनको मासिक आम्दानी रु. दुई लाखसम्म थियो । छोराछोरीलाई सुविधासम्पन्न ठाउँमा राखेर पढाउने उद्देश्यले २०६३ सालमा श्रीमती सवितासँगै काठमाडौँ छिरेका सुमन २०७२ वैशाखमा गएको भूकम्पपछि गाउँ फर्के । नौ वर्ष काठमाडौँ बसेर गाउँ फर्केका राई दम्पती अहिले बुइपास्थित छिप्तीमा कृषि व्यवसायमा जमेको छ ।  

यलम्बर नमूना कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेसा अपनाएका सुमनलाई श्रीमती सविताको साथ छ । पहिलो चरणमा रु. २० लाख लगानी गरेर ७२ रोपनी जमिनमा कागती खेती सुरु गरेका राई दम्पतीले अहिले बिक्री गर्न थालेका छन् । छिप्तीस्थित आफ्नै खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार एक सय कागतीको बिरुवा रोपेका छन् । गोडमेल गर्न मासिक रु १५ हजार तलब दिएर उनीहरुले दुईजनालाई जागिर समेत दिएका छन् ।  

बहुउद्देश्यीय फार्म सञ्चालन गरेका राई दम्पतीले आवश्यक पर्दा अन्य कामदारसमेत लगाउँदै आएका छन् । दिक्तेल बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह अध्ययन गरेका राई दम्पतीले उत्पादन गरेका कागती दिक्तेल बजार र काठमाडौँमा बिक्री गर्दै आएका छन् । कागती प्रतिकिलो रु. एक सय ५० देखि रु दुई सयसम्ममा बिक्री हुनेगरेको सुमनले बताए । 

राई दम्पतीको फार्मबाटै पनि कागती बिक्री हुनेगरेको छ । फार्ममा हाल सबै बोट सेताम्मे भएर फुल्न थालेका छन् । केहीमा लटरम्म फलेका फल अझै टिप्न बाँकी छ । टिप्न ढिला भएका कारण केही फल भुइँमा झर्न थालेका छन् । कामदारलाई फल टिप्न, गोडमेल गर्न, पानी तथा मल हाल्न भ्याइनभ्याइ छ । हावापानीको हिसाबले सहरभन्दा गाउँ राम्रो भएकाले पुनः गाउँ फर्किएर कृषि व्यवसाय शुरु गरेको सुमनको भनाइ छ । 

“सहरमा गरिने दुःख आफ्नै गाउँमा गर्दा आनन्द आउँदो रहेछ”, उनले भने, “गाउँमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो राखेर अर्काको ठाउँमा परिश्रम गर्नुभन्दा आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले फर्किएको हुँँ । अबको केही वर्षमा कागती नै पर्याप्त आम्दानीको माध्यम बन्छ ।”

जग्गाजमिन पर्याप्त भएका राई दम्पतीले व्यावसायिक खेतीसँगै राँगा, सुँगुर र बाख्रासमेत पालेका छन् । विसं २०७३ देखि व्यावसायिक खेती सुरु गरेका उनीहरुले यस वर्ष थप २५ रोपनी जग्गामा कागतीको नयाँ बिरुवा रोप्ने तयारी गरेका छन् । अहिलेसम्म करिब रु एक करोड लगानी गरिसकेका राई दम्पतीले कागतीसँगै लिची र कफीको समेत व्यावसायिक खेती थालेका छन् । तीन वर्षअघि २२ रोपनी क्षेत्रफलमा लगाएका लिचीसमेत फल्न थालेको छ । यस वर्ष कफीको चार हजार बिरुवा रोपेका छन् । RSS 

तपाईँको मत