समाज

आजबाट श्री स्वस्थानी व्रत सुरु : यस्ताे छ व्रतको नियम 

काठमाडाैं । स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । हिन्दुहरुको धार्मिक आस्था बोकेको याे व्रत पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । 

स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।

स्वस्थानी व्रत सुरु भएको दिन आजदेखि पनौतीको सालीनदीमा मेलासमेत लाग्ने गर्दछ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास छ । 

यसरी पार्वतीले एक महिनासम्म व्रतस्वरुप भगवान शिवसँग विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागतरुपमा सोही व्रतकथा चल्दै आएको मानिन्छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्‍नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ ।

सुस्वास्थ्य, शान्ति र शिवजस्तो स्वामी र पुत्रलाभको कामना गर्दै शालीनदीमा महिलाहरु व्रत बस्ने परम्परा पुरानो हो । पहिले पहिले नेवार समुदायका महिलामा मात्र प्रचलन रहेको यो व्रत अचेल विभिन्न समुदायका महिला र पुरुषसमेतले व्रत लिने गरेको संस्कृतिवदकाे भनाइ छ । 

चिसो मौसममा दैनिकरूपमा पवित्र शालिनदीमा स्नान गरी एक महिनासम्म कथा सुनेर ब्रत बसिने स्वस्थानी वा माधव नारायणप्रति नेपालीहरुको विशेष लगाव र विश्वास छ । यहाँ बस्ने व्रतालुले एक महिनासम्म नुन खान मिल्दैन ।

दैनिकरुपमा नित्यपूजा, जप, तप, ध्यान, स्वस्थानी श्रवण गरी सूर्यपूजा, शिव पार्वतीसहित सम्पूर्ण देवीदेवताको पूजा अर्चना गरी साँखु नगरभित्र एकसय आठ स्थानमा अष्टाङ्ग प्रमाण, सहस्र जलधारा अर्पण गर्ने र बेलुकी भएपछि कोठामा गई अलिनो खाना खानुपर्ने परम्परा छ । यस व्रत अवधिमा माछा, मासु, अण्डा, दाल, लसून, प्याज, साग, नून, तेल खान र प्रयोग गर्न पाइदैन । 

व्रतालुहरु विभिन्न तिथि मिलाएर खाली खुट्टा पहिला साँखुको ब्रजयोगिनी मन्दिर, पशुपति मन्दिर, फर्पिङ शेषनारायाण, पनौती मन्दिर हुँदै अन्तिममा चाँगुनारायण मन्दिर जाने परम्परा छ । 

यस्तै, एक महिनासम्म सबै व्रतालुले माधवनारायण मूर्ती बोकेर तिथि अनुसार परदेश हिँड्नुपर्ने हुन्छ । यात्रामा सामान्य बिरामी भए शंखको पानी खाने, घाउचोट भए चन्दन घोटेर लगाउने चलन चल्दै आएको छ । 

व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्नमा श्रीमहादेवको पूजा आराधना र अघ्र्य दिने चलन छ । त्यस्तै, बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने चलन छ ।

व्रतको नियम 

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ ।   

श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन नैपालको काठमाण्डौमा छन् । यो व्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपाल कै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ ।   

पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य ( दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँको सरसफाई लिपपोत गर्नु पर्दछ । व्रत गर्नेले त्यसै दिन देखी व्रत नसकिदा सम्म पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत नसकिदा सम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन । त्यसै दिन देखी एक महिना सम्म कसै संग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु, ब्रह्मचर्य को पालन गर्नु, शुद्घ धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गए पछी जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु व्रतका अनिबार्य नियमहरू हुन् ।   

पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरैमा) गरी शुद्घ वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछी पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य (गोबर, गोमुत्र, दुध, दहि र घ्यू) का साथै तिल, सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ ।   

श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरि साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ:– 

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् । 

सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।। 

नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् । 

खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।। 

चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् । 

एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।। 

यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउछ, तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता संगै मेरो पनि पूजा गर्नु भनि श्री महादेव बाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछी १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । 

ब्रतपछि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु, छोरा पनि नभए मित छोरालाई दिनु, मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत