अर्थतन्त्र

रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले वृद्धि, यस्ताे छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

काठमाडौं । विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई ३७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १,९५,१९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७,४२८ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई रु.४१७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो । 

विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा १२४६ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड रुपैयाँ कायम भएको विहीबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंकको तथ्यामा देखिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई रु.१०९१ अर्ब २२ करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१५५ अर्ब ५ करोड कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।

उपभोक्ता मुद्रास्फीति ८ प्रतिशतभन्दा बढी

गएको कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार उपभोक्ता मुद्रास्फीति बढेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत थियो ।

कात्तिकमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटेल उपसमूहको मूल्य सूचकांक १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेयपदाथको ८.८४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

सहुलियत पूर्ण पुनरकर्जा १०२ अर्ब ६० करोड लगानी

बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ कात्तिक मसान्तमा १०२ अर्ब ६० करोड रुपैयाँ लगानीमा रहेको छ । २०७९ कात्तिक मसान्तसम्ममा १ लाख ४८ हजार ४ सय ३३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २१० अर्ब १२ करोड कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको तथ्यांमा उल्लेख छ । 

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ४ सय ६१ ऋणीलाई प्रवाह भएको १३८ अर्ब ६९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८५ हजार १ सय ३८ महिला उद्यमीलाई प्रवाह भएको रु.६८ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३४ ऋणीको रु.३ अर्ब ३७ करोड कर्जा बक्यौता रहेको छ । “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिकभुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ कात्तिक मसान्तमा रु.८५ करोड ९४ लाख बक्यौता रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत