गाउँ सहर

जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै

  • १२ मङ्सिर सोमबार, २०७९ | १४:३७:०० मा प्रकाशित

धनुष । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । 

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

उनका अनुसार सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासीले महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गर्दछन् ।

मैथिल साहित्यकार डा राजेन्द्र विमल भन्नुहुन्छ, “संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखेर रङ्गभूमिमा लगी स्वयंवर र परीक्षण विधि सम्पन्न गर्ने र जानकी मन्दिरमा ल्याएर विवाह संस्कार सम्पन्न गरिन्छ । सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।”

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्य भूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमीमा राम जानकी विवाह पञ्चमी मेला आयोजना गरिन्छ । 

आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथका जेठा छोरा श्रीरामचन्द्रले शिव धनुष उठाएर ताँदोमा बाण चढाउँदा भाँचिएपछि मार्ग शुक्ल पञ्चमीमा राम जानकीको शुभ विवाह भएको प्रसङ्ग सीतोपाख्यानमा उल्लेख छ । उक्त विवाह भएको खुसीयालीमा सम्झना स्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा रहेको हो ।

राम र जानकीको स्वयंवर भएको भनिएको रङ्गभूमि १२ बिघा मैदानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगर परिक्रमा गर्दै ल्याउने र जानकी मन्दिरबाट बाजागाजा र लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

त्रेता युगमा मिथिलाका राजा जनकले सीता स्वयंवर आयोजना गर्दा देश देशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दुको आस्थाको केन्द्रका रूपमा रहेको जनकपुरधामलगायत भारतबाट आएका लाखौँ श्रद्धालु डोला नगर परिक्रमा, दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।

जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन, चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम रामचन्द्रको जयन्ती मनाउन र वैशाख शुक्ल नवमीमा जानकी प्राकट्य महोत्सवका उपलक्ष्यमा पनि यहाँ मेला लाग्ने गर्दछ  । त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला महोत्सव तथा फागुन शुक्ल पक्षका बेला पन्ध्र दिवसीय मिथिला पञ्चकोसी परिक्रमा (जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तर गृह परिक्रमा पनि आयोजना गरिन्छ ।  ती सबै उत्सव र पर्वमध्ये राम जानकी विवाह महोत्सव भने बढी श्रद्धा, निष्ठा, उत्साहका र भव्यतापूर्वक मनाइन्छ ।

वैवाहिक समारोहको पूर्वाङ्ग स्वरूप मार्ग शुक्ल द्वितीयाका दिन अयोध्याबाट साधुसन्तसमेतको एउटा जन्तीको डफ्फा(बाराती समूह)लाई जनकपुरधाम आइपुगेपछि स्वागत गरिन्छ । अयोध्याबाट आउने जन्तीलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा स्वागत गरिन्छ ।

तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्ने काम अर्थात् वाग्दान) सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिमा मिथिला परम्पराअनुसार कन्या पक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गा सागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधु सन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल-घर गाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादन गरिन्छ । 

त्यसपछि राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपद्वारा पाँच पटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरी राम मन्दिरबाट मण्डपतर्फका महन्थबाट जानकीलाई स्वयंवर गरिन्छ । स्वयंवर पछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कन्छ र त्यसै रात वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

सीताराम विवाह पञ्चमी महामहोत्सवका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिए ।  रासस

तपाईँको मत