रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी
- ९ मङ्सिर शुक्रबार, २०७९ | १०:५०:०० मा प्रकाशित

काठमाडौँ I अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरे । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार ५४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार ९६१ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार २९५ सदर मत खसेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले ७९६, मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवार हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत प्राप्त गरेका छन् ।
रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र (१) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत ल्याएका छन् ।
रुकुम पश्चिम प्रदेशसभा क्षेत्र (२) मा माओवादी केन्द्रकै्र उम्मेदवार राजकुमार शर्माले २० हजार १६० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले ८ हजार ८८ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस