राजनीति

राजनीतिक दल तथा उमेदवारले आजदेखि आमसभा र जुलुस गर्न पाउने, शीर्ष नेताहरु देश दौडाहामा

काठमाडौं । राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । 

निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज)देखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । 

आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ “निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म)मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसारसमेत गर्न सकिने ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।

जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेको आयोगले जनाएको छ । 

खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरुको चुनावी दौडाहा पनि सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिन गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा केन्द्रित हुनेछन् । 

गृहजिल्ला डडेलधुरामा हुने चुनावी सभा र कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा गृहप्रदेश सुदूरपश्चिम पुगिसकेका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चा सहितको सत्ता गठबन्धनले संयुक्त चुनावी सभाको समेत तयारी गरेको छ । अहिले शीर्ष नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने र कात्तिकको अन्तिम साता संयुक्त चुनावी कार्यक्रम हुने नेताहरुले जनाएका छन् । 

गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ सहित पार्टीका प्रचार कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । 

यस्तै, विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि देश दौडाहामा निस्किनेछन् । ओलीले शुक्रबार सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत