गाउँ सहर

वाह ! वडाध्यक्ष ज्यू, सलाम छ, अरूले पनि सिकून् 

काकडभिट्टाबाट उत्तर ७ किलाेमिटर कालाेपत्रे सडक पार गरेपछि हरियाली नै हरियाली भएकाे एउटा गाउँ आउँछ जसलाई बाहुनडाँगी भनिन्छ । छुट्टीकाे सदुपयाेग अनि वडा कार्यालयमा अफिसियल्ली भेटघाटका क्रममा हामी त्यहाँ पुगेका थियाैँ । बाहुनडाँगी भन्ने बित्तिकै अलिकति त्रास त छँदैथियाे तैपनि पहिलाे पटक पुग्ने उत्सुकता पनि उत्तिकै थियाे । त्रासकाे कारण चाहिँ जंगली हात्ती थियाे । जहाँ जंगली हात्तीले जनधनकाे क्षतिकाे समाचार नसुन्ने झापाली सायदै हाेलान् । भेटघाटकाे अवसर जुराइदिने व्यक्तिलाई पर्खँदै गर्दा चाेकमा एकैछिन चियापसलमा भलाकुसारी गर्ने अवसर मिल्याे । हाम्राे हात्ती बारेकाे प्रश्नमा उहाँहरूले उत्तर दिँदै गर्दा उहाँहरूकाे अनुहारमा डरकाे भाव नै देखिँदैनथ्याे । उहाँहरू हात्तीसँग चिरपरिचित झैँ जवाफ दिइरहनु भएकाे थियाे । 'यहाँ त हात्ती जतिबेला पनि आउनसक्छ' भन्ने उत्तर सुनेपछि हाम्राे मनमा चाहिँ चिसाे पस्याे । एकैछिनकाे पर्खाइपछि मेचीनगर वडा-४ कार्यालयतर्फ लाग्याैँ । भर्खरै बनाएकाे नयाँ भवनमा कार्यालय सारिएकाे रहेछ । वडाध्यक्षकाे कार्यकक्षमा वडाध्यक्ष अर्जुन कुमार कार्कीलाई भेट्न जुत्ता-चप्पल बाहिरै खाेल्नुपर्ने रहेछ । 

उत्तम काेइराला

भुइँमा बिछ्याइएकाे नीलाे कार्पेट, त्यसमाथि परालका परम्परगत गुन्द्री, दुईवटा साना टेबल, बाँसका मुढा, काेठाका वरिपरिका भित्तामा महापुरूषहरूका महावाणी र भनाईहरू लेखिएका थिए । टेबलभरि बाँसद्वारा निर्मित हस्तकलाका सामाग्रीहरू, बाँसकै घडी, डटपेन, कप, कपालमा लगाउने क्लिप लगायत सामाग्रीहरू देखिन्थे । बुनिएका झाेलाहरू, भँगेराकाे गुँडलगायतका सामाग्रीहरू देख्दा हामी मात्रै हाेइन जाे काेहीलाई नेपालीपनकाे वातावरणले उत्साहित र चकित बनाउने नै भयाे । 

वडाध्यक्षले स्वागत गर्दै भुइँकाे गुन्द्रीमा बसाउनुभयाे । उहाँ पनि त्यहिँ बसिरहनुभएकाे थियाे । उहाँकाे कक्षमा न महँगा कुर्सी न साेफा । नेपालीपनकाे कार्यकक्षले मननै आनन्दित बनाएकाे त थियाे नै मनमनै खुल्दुली र प्रश्नहरू पनि चलिरहेका थिए । हाम्राे अफिसियल्ली गफगाफपछि मैले प्रश्न तेर्साइँहालेँ- वडाअध्यक्ष ज्यू, तपाईँकाे कार्यकक्षमा किन कुर्सी-साेफाहरू छैनन्, किन बाँसकै सामाग्रीमा जाेड ?

उहाँले हासिँ हासिँ जवाफ फर्काउनुभयाे-'मेराे वडाका सेवाग्राहीहरू आउँदा अनेकन पीरमर्का तथा सहयाेगकाे आशा लिएर आएका हुन्छन् उहाँहरूकाे कुरा सुन्न म चाहिँ दश-बीस हजारकाे कुर्सीमा बसेर हुँदैन नि । उहाँहरूकाे समस्या सुन्ने भनेकाे आमने-सामने बसेर बराबरी हैसियतमा हाे । त्यसाे हुँदा उहाँहरूले पनि आफ्नf समस्या निर्धक्क भएर भन्न सक्नुहुन्छ भने हामीले पनि समाधान प्रयास गर्नेछाैँ । त्यसाे गर्दा उहाँहरू पनि खुशी हुनुहुन्छ । हामीलाई पनि सन्तुष्टि मिल्छ ।' 

याे काेठाकाे सजावटचाहिँ किन यस्ताे नि ? मेराे थप प्रश्न थियाे । उहाँले सहज जवाफ दिनुभयाे-'याे काेठामा प्रयाेग भएका परालका गुन्द्री, पिर्का, बाँसका मुढा, घडीलगायत सम्पूर्ण सामानहरू वडाबासी आमा, दिदी, बहिनी तथा दाजुभाइद्वारा निर्मित भएकाले बजार प्रवर्धनका लागि पनि हुने, अपाङ्गमैत्री पनि हुने, वातावरणमैत्री काेठाले मन पनि आनन्दित हुने रहेछ । त्यसैले यी सामग्रीहरूकाे प्रयाेग गरिएकाे हाे । खर्च पनि कम हुने भएकाले अरूका लागि प्रेरणा हाेस् भनेर हाे । '

उहाँकाे भनाइले नेपाली घरेलु उद्याेग प्रवर्धनदेखि गाउँमै सिँहदरबार पुगेकाे भन्ने कुरालाई टेवा पुर्याएकाे महसुस त भयाे तर देशैभरीका वडामा याे शैली अपनाइएकाे भए त गर्व गर्न लायक हुने थियाे भन्ने लाग्याे । 

उहाँका अनुसार अब चाँडै नै वडाले बाँसद्वारा निर्मित सामाग्री जस्तै डटपेन, कपालमा लगाउने क्लिपलाई व्यवसायिक उत्पादन गर्न लागिएकाे जानकारी दिनुभयाे । वैदेशिक राेजगारीबाट फर्किएका चेलीहरूलाई वडा नं.-४ मा खादा बनाउने मेशिनकाे व्यवस्था गर्न लागिएकाे बताउनुभयाे । घरेलु खादा र बाँसका सामग्रीहरूकाे प्रवर्धन वडा कार्यालयले गरिदिने पनि बताउनुभयाे । नगद आर्थिक सहयाेग भन्दापनि सीप विकासमा बढि जाेड दिइएकाे बताउँदै सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेकाे बताउनुभयाे । हात्ती पीडितहरूका लागि रेस्क्यू टीम पनि बनाउनुभएकाे रहेछ । जसले तत्काल उद्धार र सहयाेगकाे लागि पहल गर्नेरहेछ । 

यसर्थ हामीलाई वडा कार्यालय देखेपछि र वडाध्यक्ष कार्कीलाई भेटेपछि लाग्याे देशैभरी स्थानीय सरकारमा स्थानीय जनप्रतिनिधिहरू छन् जाे साेही माटाे, पाखा-भित्ताे गरेर हुर्केर समाजसेवा गर्छु भनि नीति नियम निर्माण र कार्यान्वयन तहमा छन् उहाँहरूले कार्कीले जस्तै कुनै न कुनै तवरबाट जनअपेक्षित कार्य गरेका हाेलान् की ? कार्यशैलीमा मपाइँत्वले प्रशय पाएर म नेता अरू रैती भन्ने साेच्दा हुन् ? (लेखक काेइराला सिटिजन लाइफ इन्स्याेरेन्समा एरिया ब्रान्च मेनेजरकाे रूपमा कार्यरत छन् ।)

तपाईँको मत