गाउँ सहर

एलपी ग्यास विस्थापन अभियान अर्थ मन्त्रालयबाट सुरु

  • १ भदौ बुधबार, २०७९ | १३:५९:०० मा प्रकाशित

काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट गरिएको छ ।

चालु आर्थिक वर्षको बजेटको बुँदा नम्बर २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थ मन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले त्यस कार्यको सुरुआत गरे । खाना पकाउने ग्यासमा मात्र मुलुकको ठूलो धनराशि बाहिरिएपछि सरकारले आन्तरिक  रूपमा बिजुली खपत गराउने लक्ष्यका साथ बजेटमा नै नीतिगत प्रबन्ध गरेको हो ।

गएको साउन महिनाभित्रै सिंहदरबारभित्रका सबै चमेनागृह तथा भोजनगृहहरूबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले सम्भव हुन सकेको थिएन ।

अर्थमन्त्री शर्माले आज अर्थ मन्त्रालयको क्यान्टिनबाट विद्युतीय चुल्होको प्रयोग गरिएको जानकारी दिँदै छिट्टै सबै मन्त्रालय र विभागका क्यान्टिनबाट एलपी ग्यास विस्थापन गर्न आग्रह गरे । उनले मातहतका सबै निकायलाई तत्काल यस प्रक्रियामा सहभागी हुन निर्देशन दिएको अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिए ।

सरकारले उपभोक्तालाई पनि विद्युतीय चुल्होको प्रयोग गर्न आग्रह गरिरहेको छ । त्यसका लागि बिजुलीको महसुलमा समेत केही छुट दिएको छ । सकारात्मक हस्तक्षेपका लागि सार्वजनिक निकाय तथा महानगरपालिकाहरूमा अभियान्तमक रूपमा विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने नीति लिइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धिलगायत कारण आर्थिक वर्ष २०७८/७९ मा झन्डै तीन खर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसबाट जोगिन पनि विद्युतीय चुल्होको प्रयोग नै उपयुक्त विकल्प रहेको सरकारको बुझाइ छ ।

अर्थमन्त्री शर्माले पनि नेपालको आन्तरिक ऊर्जा खपत गर्न र बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको जनसम्पर्क सल्लाहकार धितालले जानकारी दिए ।

अधिकांश चमेनागृहले विद्युतीय चुल्होको तयारी गरेको भए पनि बिजुलीको नियमित आपूर्तिको प्रबन्ध गरिदिन आग्रह गरेका छन् । केही प्राविधिक जटिलताका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र आसपासका क्षेत्रमा सहज रूपमा बिजुली प्रवाहमा कहिलेकाहीँ समस्या देखिने गरेको छ ।

उक्त समस्या समाधानका लागि प्राधिकरणले पहल गरिरहेको र बिनाअवरोध विद्युतीय चुल्होको प्रयोग गर्न सक्ने गरी व्यवस्था हुने जनाइएको छ । रासस

तपाईँको मत