विश्व

नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय

  • ३१ श्रावण मंगलबार, २०७९ | ०९:२४:०० मा प्रकाशित

काठमाडाैं । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई  भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय हुने भएको छ।

आङ सान सुकीलाई भ्रष्टाचारको थप आरोपमा सोमबार दोषी ठहर गर्दै जेल सजायमा ६ वर्ष थपेको गरिएको हो।  उनलाई पहिलेको ११ वर्षको जेल सजायमा ६ वर्ष थप गरिएको हो। सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ  ७७ वर्षीय आङ सान सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका आरोप लगाएकाे छ। 

सोमबार फैसला भएकाे चार भ्रष्टाचार मुद्दामा सुकीले आफ्नो पदको दुरूपयोग गरी बजार मूल्यभन्दा कममा सार्वजनिक जग्गा भाडामा लिएको र परोपकारी उद्देश्यका लागि चन्दा लिएर आवास निर्माण गरेको आरोप लगाइएको समाचार संस्था एपीले जनाएको छ।

उनीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ। आङ सान सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन्।

यसअघि २०२१ को फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् तर उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ।

सैनिक कूभन्दा केही महिनाअघि २०२०को नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो।  चुनावमा  धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको थियो।  आफूले निष्पक्ष चुनाव गराउने सेनाको भनाइ थियो।

तपाईँको मत