राजनीति

राप्रपा नेपाल र गाई चुनाव चिह्न

  • कमल थापा
  • १४ श्रावण शनिबार, २०७९ | १३:५२:०० मा प्रकाशित

निर्वाचन आयोगले राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न दिन अस्वीकार गरेपछि त्यसको विरुद्धमा राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई साउन ८ गते बोलायो । साउन ८ गते दुवै पक्षको बहस सुनेपछि सम्मानित सर्वोच्च अदालतका माननीय न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले निम्न बमोजिम अन्तरिम आदेश जारी गरेको छ :

– ‘गाई’ निवेदकलाई प्रदान गर्न मिलेन भन्ने निर्वाचन आयोगको निर्णयमा कुनै कानुनी आधार उल्लेख गरिएको पाइएन ।

– राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलले आफ्नो निर्वाचन चिह्न परिवर्तन गर्न पाउने नै देखिन्छ ।

– ‘गाई’ चिह्नको विषयमा आयोगसमक्ष कसैले विवाद गरेको भन्ने पाइएन ।

– निर्वाचन चिह्न राजनीतिक दलको पहिचानसँग जोडिएको विषयसमेत भएबाट निवेदकलाई पुग्न सक्ने हानी समेतलाई दृष्टिगत गर्दै निवेदकले माग गरेको चिह्न अन्य कुनै दललाई प्रदान नगर्नू ।

– राप्रपा नेपाललाई ‘गाई’ चिह्न नदिने २०७९ असार २७ गतेको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू ।

– विषयको गाम्भीर्यतालाई दृष्टिगत गरी लिखित जवाफ पेस गर्ने म्याद थाम्न नपाउने तथा मुद्दाको सुनवाइ स्थगित नहुने

सर्वोच्च अदालतको उपरोक्त अन्तरिम आदेशपश्चात राप्रपा नेपालले ‘गाई’ चुनाव चिह्न पाउने सम्भावनाको ढोका खुलेको छ ।

सर्वोच्च अदालतमा रिट निवेदन लिएर म आफैं बहसको निमित्त उपस्थित भएको थिएँ । ‘गाई’ चुनाव चिह्न मेरो भावनासँग गाँसिएको विषय हो । पार्टी एकता कायम राख्नु पर्ने दबाबमा तत्कालीन अवस्थामा हामीलाई ‘गाई’ चिह्न छोड्न बाध्य बनाइएको घटना म कहिल्यै बिर्सन सक्दिनँ । पार्टीको विचार र पहिचानलाई दृष्टिगत गर्दै ‘गाई’ नै उपयुक्त चुनाव चिह्न हुन्छ भन्ने मेरो अनुनय विनयको त्यसबेला पार्टीभित्र कुनै सुनवाइ भएन ।

मलाई कमजोर बनाउने सुनियोजित योजना अनुरुप सो कार्य भएको थियो । जसले त्यसबेला हामीलाई ‘गाई’ चिह्न छोड्न वाध्य तुल्याए, तिनैमध्येका कतिपयले पछि मलाई ‘गाई बेच्यो, सिद्धान्त छोड्यो’ भन्ने जस्ता तल्लोस्तरको आरोप पनि लगाए । उनीहरु अहिले पनि राप्रपा नेपालले ‘गाई’ चिह्न नपाओस् भन्ने प्रार्थना गरिरहेको देख्छु ।

परिवर्तित सन्दर्भमा हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि ‘गाई’ चिह्न प्राप्त गर्न प्रयास गर्नु हाम्रो स्वभाविक चाहना र दायित्वसमेत हो ।

यसै क्रममा राप्रपा नेपाल पुनर्जागृत भए लगत्तै हामीले ‘गाई’ चिह्न प्राप्त गर्न पहल गर्‍यौं । पार्टीको केन्द्रीय समितिको पहिलो बैठकबाट ‘गाई’ चिह्न प्राप्त गर्न निर्वाचन आयोगसमक्ष निवेदन दिने निर्णय भयो ।

तर, स्थानीय चुनाव नगिच आइरहेको सन्दर्भमा निर्वाचन आयोगसँगको परामर्शमा राप्रपा नेपालले तत्कालको निम्ति ‘तीर’ चिह्न लिएर चुनावमा सहभागी भयो । स्थानीय चुनाव सकिए पछि गत २०७९ आषाढ ९ गते राप्रपा नेपालले विधिवत ‘गाई’ चिह्न माग गर्दै निर्वाचन आयोगसमक्ष निवेदन दियो । निर्वाचन आयोगबाट राप्रपा नेपालको माग बमोजिम ‘गाई’ चिह्न पाउनेमा हामी आशावादी थियौं । तर, २०७९ असार २७ गते आयोगले राप्रपा नेपाललाई ‘गाई’ चिह्न दिन नसकिने निर्णय गर्‍यो ।

निर्वाचन आयोगले कानुनविपरीत गरेको उक्त निर्णयकाविरुद्ध न्याय प्राप्तिका निम्ति सर्वोच्च अदालतको ढोका घचघचाउनु बाहेक अर्को उपाय रहेन ।

निर्वाचन आयोगको मिति २०७९ असार २७ को निर्णय पश्चात गाई चिह्न पाउने अधिकारबाट राप्रपा नेपाल बञ्चित हुनपुग्यो । आयोगको उक्त निर्णय कानुनविपरीत छ र सो निर्णय बदर गरिपाउँ भन्ने नै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनको मुख्य विषय र माग हो। सम्मानित अदालतले ध्यान दिनु पर्ने विषय पनि यही हो।

निर्वाचन आयोगको उक्त निर्णय कुन कानुनमा टेकेर भएको रहेछ भनि हेर्दा त्यसको कतै कुनै आधार भेटिएन । दललाई चुनाव चिह्न प्रदान गर्नेबारे नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र निर्वाचन आयोग ऐन र तत्सम्बन्धी नियमावली आकर्षित हुने रहेछ । ती कुनै पनि कानुनमा ‘गाई’ चिह्न दिन नमिल्ने उल्लेख छैन। आयोगलाई पार्टी दर्ता सम्बन्धमा निर्णय गर्ने अधिकार कानुनले दिएको भएता पनि आयोगको निर्णय स्वभावतः कुनै न कुनै कानुनको जगमा उभिएको हुनुपर्छ भन्नेमा कुनै विवाद छैन । आयोगले हचुवा र मनोगत आधारमा निर्णय गर्न मिल्दैन।

२०७७ माघ ३ गते आयोगले गरेको निर्णय र त्यसैको आधारमा गरिएको २०७९‌ असार २७ गतेको निर्णयमा राष्ट्रिय चिह्न पार्टीको चुनाव चिह्न हुन नसक्ने मनोगत धारणा राखेको देखिन्छ। राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय गान सरह राष्ट्रिय जनावर वा राष्ट्रिय फूललाई समान हैसियत दिनु वा एउटै स्तरमा कायम गर्नु कुनै अवस्थामा पनि युक्तिसंगत हुँदैन। राष्ट्रिय झण्डा वा निशान छापको प्रयोगका सम्बन्धमा कानुनले नै निश्चित मापदण्ड बनाएको छ । त्यसर्थ त्यसको प्रयोग जथाभावि हुन सक्दैन । तर, राष्ट्रिय जनावर वा फुलका सम्बन्धमा कुनै पनि कानुन बनेको छैन । फुल, जनावर जस्ता राष्ट्रिय चिह्न चुनाव चिह्न दिन मिल्दैन भनेर कतै पनि उल्लेख छैन। वास्तवमा राष्ट्रिय जनावर वा फुल जस्ता विषय त व्यापक प्रचार प्रसार हुनुपर्दछ ।

विभिन्न मुलुकमा दलहरुले राष्ट्रिय चिह्न प्रयोग गरेको थुप्रै उदाहरण छन् । छिमेकी मुलुक भारतमा त्यहाँको सरकारले ‘बाघ’लाई राष्ट्रिय जनावर घोषणा गरेको छ । त्यहाँ अल इण्डिया फरवार्ड ब्लक ( All India Forward Bloc ) नामको राजनीतिक दलको चुनाव चिह्न बाघ र शिवसेना नामक दलको झण्डामा बाघ अंकित रहेको छ। संयुक्त राज्य अमेरिकामा पनि त्यहाँको सिनेटले ‘बाइसन'(मिथुन गाई)लाई राष्ट्रिय जनावर घोषणा गरेको छ । त्यहाँको मिनेसोटा राज्यको स्वतन्त्रता पार्टी (Independence Party of Minnesota) को चुनाव चिह्न  ‘बाइसन’ छ। बर्मा अर्थात हालको म्यानमारमा राष्ट्रिय चरा तथा स्वतन्त्रताको प्रतीककोरुपमा मयुर (Peacokok) कायम गरिएको छ । त्यहाँ लोकप्रिय प्रजातन्त्रवादी नेतृ आङसाङ सुकिको ‘नेशनल लिग फर डेमोक्रेसी’ लगायत अन्य आठवटा राजनीतिक पार्टीहरुले विभिन्न प्रकारका पिककक सहितका चिह्न प्रयोग गरेका छन्। यस्ता थुप्रै उदाहरणहरु छन्।

भारतीय जनता पार्टीको चुनाव चिह्न कमलको फूल पनि भारत सरकारको आधिकारिक वेबसाइटमा राष्ट्रिय फुल उल्लेख छ । यसप्रकार विभिन्न मुलुकमा राष्ट्रिय चिह्न भएको कारण कसैलाई पनि चुनाव चिह्न पाउनबाट रोकिएको छैन।

नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना पछि बनेका नेपाल अधिराज्यको संविधान २०४७, नेपालको अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ सबैमा ‘गाई’लाई राष्ट्रिय जनावरकारुपमा कायम गरिएको छ । सो संवैधानिक व्यवस्था अन्तर्गत नै ‘गाई’ चुनाव चिह्न प्रयोगका सम्बन्धमा देहाय बमोजिमका तथ्यहरु रहेका छन् :

१. २०४७ साल जेठ १५ गते स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)को चुनाव चिह्न ‘गाई’ थियो। २०४८ सालको आमचुनावमा सो पार्टीले गाई चिह्न लिएर चुनाव लडेको थियो र प्रतिनिधि सभामा निर्वाचित पनि भएको थियो।

२. २०६४ सालमा तत्कालीन राप्रपा नेपालले ‘गाई’ चिह्न प्राप्त गरेको थियो । २०६४ साल चैतमा भएको संविधानसभाको निर्वाचन गाई चिह्न लिएर ४ स्थान प्राप्त गरेको थियो।

३. २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा पनि राप्रपा नेपालले गाई चिह्न लिएर चुनावमा भाग लिई २५ सिट प्राप्त गरेको थियो

४. २०७३ साल भाद्रमा तत्कालीन राप्रपा नेपाल र राप्रपाका बीच एकता भएर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत चुनाव चिह्न गाई थियो। सोही चिह्नबाट २०७४ साल वैशाख -असोजमा भएको स्थानीय चुनाव र २०७४ मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भाग लिई दुवै तहमा केही स्थानमा विजयी समेत भएको थियो।

५. २०७६ चैतमा तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) का विचमा एकता भई गाई नै चुनाव चिह्न कायम भएको थियो। पछि सो पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णय भई ‘गाई’को सट्टा ‘हलो’ चिह्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिइयो। सो निवेदनको आधारमा आयोगले राप्रपालाई ‘हलो’ चिह्न प्रदान गरी ‘गाई’ चिह्न फ्रिजमा राख्यो।

६. यसै बिच राजनीतिक उतारचढावको क्रममा एक विशेष परिस्थितिमा निर्वाचन आयोगले २०७७/१०/३ मा निम्न बमोजिमको निर्णय गर्‍यो- ‘राजनीतिक दल दर्ता वा अभिलेख अद्यावधिक गर्दा आयोगले राजनीतिक दलहरुलाई प्रदान गरिसकेका चिह्नसँग मिल्दाजुल्दा प्रकृतिका चिह्न प्रदान नगर्ने, नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फुल लालीगुँरास, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिह्न दललाई प्रदान नगर्ने र कुनै राजनीतिक दललाई त्यस्तो चिह्न प्रदान गरिसकेको भए सोको पुनरावलोकन गर्ने’।

७. अर्को तर्फ २०७३ सालमा तत्कालीन राप्रपा नेपाल र राप्रपाका बीच एकता भएर राष्ट्रिय प्रजातन्त्र पार्टी कायम भएको अवस्थामा धनकुटाका लाक्पा तामाङले २०७५ चैत २५ गते राप्रपा नेपाल नामको दल निर्वाचन आयोगमा दर्ता गराउनु भयो। त्यसवेला गाई चिह्न राप्रपाले नै राखेको हुँदा लाक्पा तामाङले राप्रपा नेपालको निम्ति ‘साँडे’ चिह्न लिनुभयो।

८. यसै बीच कमल थापा राप्रपाबाट अलग भै २०७८ फागुनमा लाक्पा तामाङको राप्रपा नेपालमा संलग्न हुनुभयो। लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिनुभएपछि पार्टीको विधान बमोजिम केन्द्रीय कार्यसमितिबाट कमल थापा राप्रपा नेपालको अध्यक्ष पदमा कमल थापा निर्वाचित हुनुभयो। कमल थापा अध्यक्ष भएपछि बसेको सो पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले ‘गाई’ चिह्न लिने निर्णय गर्‍यो। तदनुसार निर्वाचन आयोगमा निवेदन लिएर जाँदा ‘गाई’ चिह्न दिन नसकिने र स्थानीय चुनाव नजिकिँदै गएको हुँदा अर्को चिह्न लिन आयोगले परामर्श दिएकोले तत्कालको निम्ति राप्रपा नेपालले ‘तीर’ चिह्न लिएर चुनावमा भाग लियो।

९. स्थानीय चुनाव सकिएपछि २०७९ असार ३ गते राप्रपा नेपाल केन्द्रीय समितिको निर्णय अनुसार ‘गाई’ चिह्न पाउन आयोगसमक्ष निवेदन दिइयो। आयोगले २०७९ असार २७ गतेको निर्णयअनुसार राप्रपा नेपाललाई ‘गाई’ चिह्न दिन नमिल्ने जानकारी प्राप्त भयो।

१०. २०६३ सालदेखि २०७७ सालसम्म निरन्तर तत्कालीन राप्रपा नेपाल र पछि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चिह्न लिएको थियो । त्यो बेला जुन संविधान, ऐन र नियम थियो, अहिले पनि त्यही छ। कुनै परिवर्तन भएको छैन । त्यसवेला गाई चिह्न राख्न मिल्ने अहिले नमिल्ने भन्ने कुनै कानुनी वा व्यावहारिक वा राजनीतिक कारण छैन ।

अर्कोतर्फ राष्ट्रिय चिह्न डाँफे राष्ट्रिय यथार्थवादी पार्टीको चिह्न कायम रहेको तथ्य राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दाको दिनसम्म निर्वाचन आयोगको ‘वेभसाइट’ मा उल्लेख छ ।

राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने सम्बन्धमा नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ आकर्षित हुन्छन् । उपरोक्त कुनै पनि कानुनले ‘गाई’ चिह्न दिन नमिल्ने भनेको छैन । निर्वाचन आयोगले निर्णय गर्दा स्वभावतः प्रचलित कानुनमा भएको व्यवस्था अनुसार गर्नु पर्दछ । आयोगलाई स्वेच्छारी ढंगबाट निर्णय गर्ने र दलमाथि हैकम चलाउने असाधारण अधिकार छैन । यस्तो स्वेच्छाचारी प्रवृत्तिले दलीय व्यवस्था, लोकतन्त्र र संवैधानिक मान्यतालाई नै कमजोर बनाउँछ ।

नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले दलको चुनाव चिह्न ‘नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकुल हुने भएमा’ दल दर्ता हुन नसक्ने व्यवस्था गरेको छ । राप्रपा नेपालले माग गरेको ‘गाई’ चुनाव प्रतिकुलबाट कुनै पनि अर्थ वा सन्दर्भमा उपरोक्त व्यवस्था प्रतिकुल हुने वा उल्लंघन हुने अवस्था रहेको छैन भन्ने तथ्यलाई विगतमा ‘गाई’ प्रतिकुल प्रयोग हुँदा धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने वा सार्वजनिक नैतिकता प्रतिकुल हुने कुनै कार्य नभएबाट स्वतः पुष्टि गर्दछ ।

जहाँसम्म ‘गाई’ चुनाव चिह्नले धार्मिक गन्ध दिन्छ कि भन्ने तर्क छ, त्यसमा कुनै तुक छैन । वास्तवमा आयोगमा दर्ता भै हाल क्रियाशील धेरै दलहरूको चुनाव चिह्न कुनै न कुनै रुपमा धार्मिक सांस्कृतिक मान्यतासँग गाँसिएका छन् । त्रिशूल, षटकोण, कमलको फूल, डमरु, वज्र, हात्ती, तारा, शंख त्यसका उदारहणहरु हुन् । ‘सूर्य’ लाई सनातन धर्मावलम्बीहरू स्वयं भगवान कै रुपमा पूजा आराधना गर्दछन् ।

जहाँसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा ‘गाई’ अंकित भएको कारण राप्रपा नेपाललाई ‘गाई’ दिनु हुन्न भन्नेतर्क आफैमा हाँस्यास्पद छ । राप्रपा नेपालले ‘गाई’ पाउने अवस्था बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि झण्डामा ‘गाई’ राख्ने बाटो स्वतः खुल्छ । फेरि झण्डमा गाई हुँदा चुनाव चिह्न हुन मिल्दैन भन्ने तर्कलाई त नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को उदाहरणले खण्डित गर्छ । नेकपा(माओवादी केन्द्र)को चुनाव चिह्न ‘हसिँया हथौडा’ नेकपा(एमाले)को झण्डामा अंकित रहेको छ ।

प्रजातन्त्रमा दलको महत्व रहन्छ, चुनाव चिह्नसँग सम्बन्धित दलको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ । त्यो भावना कुण्ठित हुँदा स्वभावतः प्रजातान्त्रिक मान्यतासमेत कमजोर हुन पुग्छ । यो वास्त्विकतालाई सम्मानित सर्वोच्च अदालतको २०७९ साल साउन ८ गतेको अन्तरिम आदेशमा समेत स्वीकार गरिएको छ । यसैगरी निर्वाचन आयोगले यथासम्भव राजनीतिक दलहरूलाई सहयोग गर्ने तथा दलहरूलाई सहज हुने ढंगबाट कार्य गर्नु पर्दछ भन्ने प्रत्येक दलहरुको अपेक्षा हुन्छ ।

उपरोक्त पृष्ठभूमि तथा गत साउन ८ गतेको अन्तरिम आदेशको आलोकमा निर्वाचन आयोगको मिति २०७९ साल साउन २७ को निर्णय बदर गरी राप्रपा नेपालललाई ‘गाई’ चुनाव चिह्न दिनु भन्ने सम्मानित सर्वोच्च अदालतबाट परमादेश प्राप्त हुने विश्वास गर्न सकिन्छ । (सर्वोच्च अदालतमा भएको बहसमा आधारित)

गाउँ सहर संवाददाता

तपाईँको मत