अर्थतन्त्र

कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५७७ अर्ब ३९ करोड, रेमिट्यान्स चैँ बढ्याे

काठमाडाैँ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको तथ्याङ्कमा आधारित) का अनुसार कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५७७ अर्ब ३९ करोड पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु.१८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ ।वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जिंक शिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई रु.१७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्सलगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५७७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. २०० अर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १७३ अर्ब २६ करोड बराबरको भएको थियो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तोआप्रवाह १०.५ प्रतिशतले बढेको बैंकले उल्लेख गरेकाे छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,१३,३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २,५९,०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु.१००६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको नेराबैंकले जनाएकाे छ ।

पूरा वित्तीय अवस्था यहाँ हेर्नुहाेस्

गाउँ सहर संवाददाता

तपाईँको मत