गाउँ सहर

नेपाल आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख, राजनीतिक रूपमा अर्थपूर्ण

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज (आइतबार) विहान काठमाडौं आइपुगेका छन् ।  

सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । आठ सदस्यीय टोलीसहित उनी नेपाल आइपुगेका हुन् ।

चार दिने भ्रमणको क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् । 

संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

स्रोतका अनुसार आगामी संघीय निर्वाचनमा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीबीच सम्भव भए एकता र नभए वाम गठबन्धन बनाएर जाने वातावरण बनाउनु पनि उनको भ्रमणको उद्देश्य हो । ‘चिनियाँ चासो आगामी निर्वाचनमा दुई कम्युनिस्ट पार्टीबीच वाम गठबन्धन बनाएर जाउन भन्ने हो । त्यसका लागि पहिले पनि केही चरणमा अनौपचारिक संवादहरू भइसकेका छन् ।

जुन पहिलो सातादेखि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । पहिलो विदेश भ्रमणको लागि जियानचाओले नेपाल रोज्नुलाई अर्थपूर्ण मानिएको छ ।

२०७४ मा निर्वाचन हुनुअघि एमाले र माओवादीलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि एकीकरण गर्नका लागि चिनियाँ पक्षले खुलेर भूमिका खेलेको थियो ।

नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक बनाउन भूमिका खेल्दै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।

लिउ नेतृत्वको चिनियाँ टोलीले ९ असारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, १० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली र १६ असारमा कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत