सडक/यातायात

४० लाख सवारीसाधनः झण्डै १३ अर्बकाे इम्बाेस्ड नम्बर, ट्वाल्ल सवारीधनी

तस्बिरः यातायात व्यवस्था विभाग ।

काठमाडाैँ । नेपालमा पछिल्लाे समयमा सबै सवारीसाधनकाे संख्या ४० लाख जति छ । त्यसमा दुइपाङ्ग्रे ७९ प्रतिशत, सार्वजनिक १.४ प्रतिशत र १९ अन्य । ०७४ सालबाट इम्बोस्ड नम्बरमा सरकारकाे ताकेता परेपनि यसपटक सरकार थप कडाइका साथ प्रस्तुत भएकाे छ । तर उसले लटनुसार क्रमशः गरिने पनि स्पष्ट बताएकाे छ ।

हालसम्म जम्मा २५,००० सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको यातायात व्यवस्था कार्यालय जनाएको छ ।

यो चार-पाँच अर्ब रुपैयाँको ठेक्का हाे । सरकारले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ तोकेको छ । ट्रकजस्ता ठूला सवारीसाधनमा सबैभन्दा बढी ३,६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो नम्बर प्लेट विगतमा जस्तो आफैँ जडान गर्न नसकिने बताइएको छ । तर ४० लाख साना-ठूला सवारीसाधनबाट करिब १२ देखि १३ अर्बकाे रकम उठ्छ । त्यहि भएर हाेला, तर कर असुल्ने रणनीतिकाे चर्काे आलाेचनापनि खेपेकाे छ याे व्यवस्थाले ।

बागमती प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलमा यस्तो प्लेट जडान गर्न गुर्जुधारा र साना तथा ठूला सवारीसाधनमा जडान गर्न एकान्तकुनास्थित यातायात कार्यालय जानुपर्छ । गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनमा यस्तो नम्बर प्लेट पोखरामा मात्रै जडान गरिन्छ ।

सरकारले उपलब्ध गराउने नम्बर प्लेट मशीन इम्बोस्ड हुने हुँदा अङ्क र अक्षर मशीनबाट छापिएको हुन्छ। अर्थात् विगतमा जस्तो हातले नम्बर प्लेट कोरिएको हुँदैन । विभागका अनुसार एक पटक सवारीसाधनमा नम्बर प्लेट जडान गरिएपछि त्यो निकाल्न मिल्दैन ।

दुईपाङ्ग्रे सवारीमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी स्टिकर टाँसिएको हुन्छ । चारपाङ्ग्रे सवारीमा भने त्यो स्टिकर अगाडिको सिसामा टाँसिएको हुन्छ ।

सरकारले हाल वितरण गरिराखेको इम्बोस्ड नम्बर प्लेट चार वटा प्रकारमा वर्गीकरण गरेको छ । सार्वजनिक यातायातमा पहेँलो प्लेटमा कालो अक्षर हुन्छ भने निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर लेखिएको हुन्छ । त्यस्तै सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ भने कूटनीतिक निकायहरूले प्रयोग गर्ने सवारीमा नीलो प्लेटमा सेतो अक्षर हुन्छ ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ । त्यो एल्मुनियम प्लेट हो । त्यसले गर्दा यो सितिमिति ड्यामेज हुँदैन ।

उक्त नम्बर प्लेट प्राप्त गर्नका लागि सर्वसाधारणहरूले यातायात व्यवस्था विभागको वेबसाइटमार्फत् आवेदन दिनुपर्ने हुन्छ । आवेदकले पेस गरेका कागजपत्र प्रमाणीकरणको काम सम्पन्न हुनासाथ सिस्टमबाटै इम्बोस्ड नम्बर प्लेट जारी हुन्छ ।

इम्बोस्ड नम्बर प्लेट दर्ता यसरी गर्ने

  • यातायात व्यवस्था विभागको वेबसाइट खोल्नुहोस् ।
  • स्क्रिनको दायाँतिर भएको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ मा क्लिक गर्नुहोस् ।
  • स्क्रिनमा देखिने अप्सनहरूमध्ये अन्तिममा रहेको ‘अनलाइन आवेदन गर्नुहोस्’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
  • स्क्रिनको दायाँतिर भएको ‘गेट स्टार्टेड’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
  • यसपछि प्रणालीले माग गरेको विवरणहरू भर्नुहोस् । यसमा पुराना अर्थात् अञ्चलबाट जारी भएको नम्बर प्लेटको हकमा भने कार्यलय कोड राख्नुपर्ने ठाउँलाई छोडेर अन्य; जारी गरिएको प्रदेश वा अञ्चल, सवारीको लट कोड, वर्गीकरण र नम्बर राख्नुहोस् । यसपछि तपाईंको मोबाइल नम्बर र ईमेलमार्फत भेरिफिकेसन कोड आउँछ ।
  • आफ्नो सवारीको विवरण र व्यक्तिगत विवरण पालैपालो भर्नुहोस् ।
  • यसपछि तपाईं आवेदनको अर्को चरणमा पुग्नुहुन्छ, जहाँ तपाईंले आफ्नो ब्लुबुक, नागरिकता वा पासपोर्ट, रकम भुक्तानी गरेको भौचर, सवारी कर भुक्तानीको भौचर लगायतका कागजातहरूको तस्वीर सब्मिट गर्नुहोस् ।
  • यसपछि नेक्स्ट अप्सनमा क्लिक गरेर सम्पूर्ण जानकारी भेरिफाई गरी आवेदन दिन स्क्रिनको दायाँतिर गएर सब्मिटमा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि तपाईंले आफ्नो इम्बोस्ड नम्बर प्राप्त गर्नुहुनेछ । प्राप्त इम्बोस्ड नम्बर लिएर सम्बन्धित यातायात कार्यालयमा गई आफ्नो इम्बोस्ड नम्बर प्लेटको लागि स्वीकृति लिन सक्नुहुनेछ । तर इम्बाेस्ड नम्बर प्लेट गर्ने स्थान ताेकिएका कम छन्, समय मिलाएर जानुहाेस् ।

गाउँ सहर संवाददाता

तपाईँको मत