गाउँ सहर

चाेरी मोटरसाइकल पहाडी जिल्ला लगेर बेच्ने पक्राउ

झापा । झापाबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्ला लगेर बेच्ने गरेको खुलासा भएको छ। झापा प्रहरीले चोरी भएका चार वटा मोटरसाइकलसहित घटनामा संलग्न दुई जनालाई पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो।

दमक नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका मोटरसाइकलहरू धमाधम चोरी हुन थालेपछि सवारी धनीले प्रहरीमा उजुरी दिन थालेका थिए। प्रहरीमा एकपछि अर्को गर्दै उजुरी पर्न थालेपछि चोरी भएका मोटरसाइकल खोजतलास गर्ने क्रममा झापा प्रहरीले चार वटा मोटरसाइकल पाँचथरको मिक्लाजुङबाट फेला पारेको छ।

मोटरसाइकल चोरीमा संलग्न मिक्लाजुङ गाउँपालिका ५ निवासी २१ वर्षीय चन्द्रकुमार योङवा र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुवाङ पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

जेठ १३ गते दमक नगरपालिका– ६ स्थित नेपालीरिका होटेल अगाडि पार्किङ गरी राखिएको सुमन खड्काको मे ११ प ५५१२ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो। सोही मोटरसाइकल योङवा र कुरुवाङले पाँचथरमा लगेर चलाइरहेको अवस्थामा प्रहरीले भेटाएपछि उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको डिएसपी पाठकले बताए।

जेठ ९ गते  दमक ६ स्थित गायत्री बोर्डिङ स्कुल अगाडि पार्किङ गरी राखिएको दमकका सविन राईको प्र १–०१–०१५ प ८६९० नम्बरको पल्सर मोटरसाइकल, जेठ ६ गते दमक ६ स्थित नेपालीरिका होटेल अगाडि पार्किङ गरी राखिएको इलाम चुलाचुलीका भीमा अधिकारीको प्र १–०१– १४ प १२४० नम्बरको पल्सर मोटरसाइकल र जेठ २ गते दमक ६ स्थित नमुना मार्केटमा पार्किङ गरी राखिएको दमकका खेमराज गुरागाईंको मे ८ प ९२९७ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चोरी भएका तीन वटा मोटरसाइकल पनि पाँचथरमै फेला परेको हो। यता मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत