कला

लघुकथा: नयाँ वर्ष

उनीहरूले नयाँ वर्ष धुमधामले मनाउने निर्णय गरे । तर धुमधाम हुन्छ कसरी ?

एउटाले भन्यो- "कतै नयाँ ठाउँ घुम्न जाउँ न ।"

अर्कोले भन्यो- "पिकनिक जाउँ, न पिकनिक ।"

तेस्रोले सुझायो- "घुम्ने र पिकनिकका कुरा छोड केटा हो । झ्याप्प रेष्टुरेन्टमा जम्मा हुने, गेटटुगेदर गर्ने ।"

बहुमत गेट्टुगेदरतिर गयो । गल्लीको एउटा रैथाने रेष्टुरेन्टमा बेलुकापख उनीहरू जम्मा भए ।

टेबलमा वेटरले मेनु तेर्स्यायो । मेनु नहेरी एउटाले भन्यो- "आजको नयाँ के छ ? सधैं खाको त के खानु, न्यू इयरमा त न्यू आइटम हुनुपर्‍यो नि ।"

"सबै छ, हेर्नुस् न मेनु । के लिनुहुन्छ ?" वेटरले भन्यो ।

मेनुमा नयाँ खोजी भो । चाउमिन, म:म, चिकेनचिल्ली, छोइला, सुकुटी, फ्रेन्च फ्राइ, बर्गर, बियर, भोड्का, व्हिस्की, वाइन .... आदि आदि लेखेको देखियो। जो हिजो पनि थियो ।

"हामी नयाँ खाने नयाँ । नयाँ वर्षमा नि पुरानो के खाने यार ।" मेनुको खाना आइटम देखेर अग्लेपातले झोक्कियो ।

वेटर अलमल्ल पर्‍यो । उसले केही उत्तर दिएन ।

"अब के गर्ने ?" एउटाले भन्यो ।

"नयाँ ठाँउ जाउँ । अर्कोले भन्यो ।

"हो, अन्तै जाउँ ।" होचो पुड्कोले बल थप्यो ।

"जहाँ गए नि त्यही हो ।" चौथोले भन्यो ।

अन्त्यमा उनीहरुको त्यहीँ बस्ने निधो भो । उनीहरुले सकेसम्म नयाँ नयाँ खाना छानेर अर्डर गरे ।

तर, उनीहरूको खाना फरक थियो, स्वाद फरक थिएन । इच्छा नयाँ थियो, विचार नयाँ थिएन । कुरा चाहिँ नयाँ थियो, काम नयाँ थिएन । चाहना नयाँ थियो, भावना नयाँ थिएन । दिमाग नयाँ चाहन्थ्यो, तर मन नयाँ हुन सकेको थिएन ।

किन थाहा छ ? सृष्टि हरेक दिन नयाँ हुने भए पनि उनीहरूको दृष्टि नयाँ वर्षमा पनि नयाँ हुन सकेको थिएन ।

तपाईँको मत