राजनीति

चुनावी तालमेलको तयारीमा एमाले र परिवार दल

काठमाडौं । अगामि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरु चुनावी तालमेलको तयारीमा छन् । सतारुढ पाँच दलिय गठबन्धनलाई काउन्टर दिन प्रमुख प्रतिपक्षद्ध दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । २०७४ सालको निर्बाचनमा ३ बुर्दे सहमति गरेर परिवार दलले एमालेसँग चुनाबी सहकार्य गरेको थियो । यसैबीच नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअघि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।

‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौं,’ अध्यक्ष ढकालले भने, ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ ।’ ७६ जिल्लाको निर्बाचन कार्यालयमा दर्ता रहेको उक्त दलले ५२ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ । तर एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दावी नगर्ने नीति पार्टीले लिएको अध्यक्ष ढकालले बताए ।  परिवारले सातदेखि दशवटा पालिकामा आफ्नो दाबी गर्ने तयारी गरेको छ ।

ढकालका अनुसार कुन कुन पालिकामा दाबी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै अध्यक्ष ढकालले उक्त पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए । कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्ने विषयमा परिवार दलले वरिष्ठ उपाध्यक्ष विनोद डाँगीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिलाई मुलुकभर पार्टीको अवस्था र प्रभाव क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइएको छ । उक्त समितिले रिर्पोट दिएपछि परिवार दलले दाबी गर्ने पालिकाको टुंगो लाग्ने अध्यक्ष ढकालले जानकारी दिए । एमाले उपाध्यक्ष पौडेलसँग कसरी तालमेल गर्ने मोडालिटीसहित फेरि छलफल गर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने परिवार दलले जनाएको छ । परिवार दलले महानगर र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले तोक्ने र बाँकी स्थानीय तहको उम्मेदवार चयन जिल्लाले गर्ने निर्णय गरेको छ ।

समान बिचार र एजेन्डा मिल्ने जुनसुकै दलसँग पनि चुनाबी तालमेल गर्न खुल्ला रहेको परिवार दलले एक्लै पनि चुनाबमा जाने बताएको छ । यसको लागि दलका प्रवक्ता रुपसिह भण्डारीको नेतृत्वमा चुनाबी घोषणा पत्र समिति बनाई काम शूरु गरेको छ । घोषणा पत्रमा स्थानीय तहमा भएको नितिगत भष्ट्राचारलाई शुन्यमा झार्ने समानुपातिक र समाबेसी बिकास पहुचको आधारमा नभई आवश्यकताको आधारमा हुनुपर्ने कुरालाई जोड दिने छ । स्थानीय तहमा नेतृत्व क्षमता बिकास प्रशिक्षण, जनसहभागितामा स्थानीय तहमा बजेट तर्जुमा गर्नुपर्ने र बिकास बजेटलाई पूर्ण रुपमा खर्च गर्नुपर्ने तथा स्वास्थ्य शिक्षा खानेपानी र स्थानीय पूर्वाधार बिकासको लगायतको बिषयलाई समेटेर धोषणा पत्र तयार गरिने परिवार दलले बताएको छ ।

अध्यक्ष ढकालले पुराना दलहरुको आयु सकिएको बताउदै उनिहरुले गर्न सक्ने जति काम गरिसकेकोले अब योभन्दा धेरै आशा गर्न नहुने बताए । उनले पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे । उनले पुराना नेताहरुले नितिगत रुपमा नै भ्रष्टाचार गरेर विकृत संस्कार खडा गरी राज्यको ढुकुटी सबै पोल्टामा हालेर दादागिरी मच्चाएकाले  अब जनताहरु सचेत भएर नयाँ नेतृत्व चुन्नु पर्नेमा जोड दिए ।

परिवार दलले मधेध प्रदेशका बारा र पर्सामा आफू बलियो रहेको दाबी गरेको छ भन प्रदेश एकमा सुनसरी र झापा, बागमतीमा काठमाडौं, नुवाकोट र मकवानपुर गण्डकीमा कास्की र गोरखा, लुम्बिनीको दाङ र रुपन्देही, कर्णालीको मुगु र दैलेख तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा आफ्नो संगठन बलियो रहेको दाबी गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत