खेल

नेपालद्वारा पीएनजी सात विकेटले पराजित, एकदिवसीय र टी–ट्‍वान्‍टी सिरिजका लागि टिम घोषणा

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि नेपाल विजयी भएको छ । मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो ।

यूएईले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो । यसअघि पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

नेपालको जितमा आरिफ शेखले ५९ रनको अर्धशतकीय योगदान गर्नुभयो भने रोहित पौडेलले ४४ बनाउनुभयो। पीएनजीका चाल्र्स अमिनीले दुई र काबुआ मोरले एक विकेट लिए ।

यसअघि नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिनुभएको थियो। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले नेपालका लागि समान एक–एक विकेट लिए ।

नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको नेपालले मङ्गलबार चौंथो खेलमा सात विकेटकाे जित दर्ता गरेको हो ।

लिग–२ अन्तर्गतको सिरिजका १२ खेल खेलेको नेपाल छैठौं स्थानमा छ । १२ अंक जोडेको नेपाल ६ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित भएको छ ।

३७ अंकसहित ओमान शीर्ष स्थानमा छ । यूएई, स्कटल्याण्ड, नामिबिया र अमेरिका तालिकाकाे क्रमश दोस्रो, तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । पिएनजी भने दुई अंकसहित तालिकाको पुछारमा छ ।

एकदिवसीय र टी–ट्‍वान्‍टी सिरिजका लागि टिम घोषणा

 

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसिय र त्रिकोणात्मक टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले मंगलबार एकसाथ सन्दीप लामिछानेको कप्तानीमा दुई टिमको घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको एकदिवसीय टिमको सूचीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल अटाएनन् ।

सन्दीप नेतृत्वको एकदिवसिय नेपाली टोलीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, अनिल साह, विक्रम सोब, सुशन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलसन झा र भिम सार्की रहेका छन् ।

त्यसैगरी सन्दीपकै नेतृत्वको टी–ट्‍वान्‍टी टोलीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी समेटिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत