राजनीति

एमसीसी पारितपछि प्रतिगमन फर्कने खतरा टर्‍याे- प्रचण्ड, सम्बन्ध कठिन क्षणमा- श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको समर्थन गर्ने आफ्नो निर्णयको बचाउँ गर्दै एमसीसीको समर्थन गरेसँगै देशमा दुर्घटना टरेको र सत्तारुढ गठबन्धन सुरक्षित बनेको बताएका छन्।

माओवादी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीमा आफ्नो कुशल निर्णयले गर्दा मुलुकमा आइलागेको दुर्घटना पनि टरेको र गठबन्धन चुनावसम्मै लैजान सफल भएको दाबी गरेका छन् । उनको आफ्नो सही निर्णयले नेपालको राजनीतिले नै नयाँ कोर्स समातेको पनि दाबी गरे।

यथास्थितिमै एमसीसी पास गरेर माओवादीलाई 'रिङ आउट' गर्न खोज्ने एमालेको षड्यन्त्र चकनाचुर भएको पनि प्रचण्डले बताए । पार्टी विभाजनअघि नेकपा हुँदा अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै एमसीसी पास गर्न खोजेको पनि प्रचण्डको दाबी छ ।

प्रचण्डले माओवादीले एमसीसीमा समर्थन गरेसँगै मुलुक अन्योल र प्रतिगमनतिर फर्कने खतरा टरेको बताउँदै संविधानको, लोकतन्त्रको र राष्ट्रियताको रक्षाका आफूले एमसीसीमा समर्थन गर्ने निर्णय गरेको दाबी गरे ।

प्रचण्डले संकल्प प्रस्तावसमेत पारित गर्दै देशको राष्ट्रियतालाई कहिँ कतै आँच नपुर्‍याउने गरी एमसीसी पारित भइसकेकाले अब यो विषयमा रुमलिनु ठिक नभएको समेत दाबी गरे ।

बैठकमा नारायणकाजी श्रेष्ठले अमेरिकासँग भएको एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको कडा आलोचना गरेका छन् ।

उनले आफूलगायतका नेताहरुले एमसीसीको विरोध गर्दा अध्यक्ष प्रचण्डले पार्टी छाडे पनि हुन्छ भन्नेसम्मको अभिव्यक्ति दिएको भन्दै तिव्र असन्तुष्टि पोखेको एक नेताले गाउँसहरलाई बताए ।

उनले पार्टी अध्यक्ष  प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको पनि बताए । उनले पार्टी गम्भीर अवस्थामा पुगेको पनि बताएका थिए । 

बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।

पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गर्नुका साथै अर्का नेता श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो । 

पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्थानीय चुनाव लगायतका विषयमा ब्रिफिङ गरेका थिए । आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् ।

एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्र मतभेद चुलिएपछि माओवादी केन्द्रले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको हो । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने विषयमा नेता श्रेष्ठ र उनी पक्षधर नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । एमसीसी सम्झौता अनुमोदनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहालले ‘आफ्नो बाटो लागे हुन्छ’ भनेपछि पूर्वएकता केन्द्र समूह आक्रोशित भएको छ ।

केन्द्रीय समिति बैठकमा सम्झौता अनुमोदनकै विषयमा बहस चर्किने सम्भावना देखिएको छ । एमसीसी सम्झौता अनुमोदनमा दाहालको भूमिकाप्रति असन्तुष्ट नेता श्रेष्ठको समूहले वैकल्पिक पार्टी निर्माणसम्मको विकल्पमा छलफल गरिरहेको छ । एमसीसीमा राष्ट्रघात भएको तर्क उक्त समूहको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत