राजनीति

एमसीसीबारे उपराष्ट्रपति पुनले मुख खाेले

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताको सम्बन्धमा मुख खाेलेका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस – २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले एमसीसी सम्झौता प्रति लक्षित गर्दै राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा दुरगामी महत्व राख्ने विषयलाई सहमतिबाट मात्र अगाडि बढाउनु पर्ने बताएका छन् ।

‘एमसीसी’ शब्द उच्चारण नगरी उपराष्ट्रपति पुनले भने- ‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा छलफल र मतभिन्नताहरु प्रकट भइरहेका छन्। दूरगामी महत्त्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्त्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ’, उनले भने, ‘राष्ट्रिय सहमति नहुँदा यसले राजनीतिक द्वन्द्व पैदा हुन सक्ने खतरा हुन्छ। र, यसले देशलाई राम्रो गर्दैन । यसमा हामीले विगतबाट पाठहरु पनि सिक्न सक्नुपर्दछ। म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’

उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए। मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उनको भनाइ छ।

भाषा आयोगले सिफारिस गरे अनुसार सम्बन्धित प्रदेशहरुमा मातृभाषामा सेवा दिन ढिलाई नगर्न उपराष्ट्रपति पुनले ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले मातृभाषाको लोप भएमा नेपालको मौलिक संस्कृति लोप हुने भएकाले मातृ भाषाको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने बताए । मातृभाषाको संरक्षण गर्ने प्रमुख दायित्व राज्यको भएको उनले बताएका थिए । स्थानीय तहले मातृभाषामा पठनपाठनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उनको भनाइ छ । भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशमा मातृभाषामा सेवा दिन ढिलाइ नगर्न उनले ध्यानाकर्षण गराए ।

गाउँ सहर संवाददाता

तपाईँको मत