ब्लग

स-साना लापरबाहीले पनि ठूलो क्षति हुनसक्छ, हाेर्डिङ्ग बाेर्डलाई ख्यालख्याल नगरौँ

  • अनुसा थापा
  • ७ फाल्गुण शनिबार, २०७८ | ०९:१०:०० मा प्रकाशित

पछिल्लो समय विज्ञापन गर्न राखिएको हाेर्डिङ्ग बाेर्डले राजधानी कुरुप बनाइदिएको छ । योसंगै, केबल, इन्टरनेट र टिभीको तार पनि जथाभावी हुँदा उपत्यका अस्तव्यस्त देखिन्छ । जथाभावी रुपमा बाँधिएका तारहरुको कारण उपत्यकावासी त्रासमा हिँड्नुपर्ने अवस्था छ । भाँच्चिसकेको खम्बामा समेत तार झुन्डाइएको छ । खम्बा कतिखेर भाँच्चिएर कसमाथि खस्ने यो निर्क्यौल गर्दै हिँड्नुपर्छ । यता, हाेर्डिङ्ग बाेर्ड पनि उत्तिकै जोखिमपूर्ण छ । एउटा घरमा कतिवटा पसल, अफिस सञ्चालित छन् त्यति नै हाेर्डिङ्ग बाेर्ड राखिएको हुन्छ । पछिल्लो समय एउटै घरमा १५ वटासम्म होटिङ बोर्ड राखिएको देख्न सकिन्छ ।

होटल, निजी अफिस, पसलजस्ता जुनसुकै व्यापार गर्दा सबैभन्दा पहिले वडामा जानकारी गराउनुपर्ने नियम छ । त्यसैगरी, सो व्यापारिक संस्था वडामा दर्ता भएको हुनुपर्छ भने वडाको नियमकानुन सबै मानेको हुनुपर्दछ । वडाको स्वीकृतिबिना कसैले पनि हाेर्डिङ्ग बाेर्ड राख्न पाउँदैन । उक्त बोर्डको सीमा पनि वडाले निर्धारण गर्दछ । वडाले तोकेकोभन्दा ठूलो वा सानो बोर्ड राखेको खण्डमा कारबाही गर्ने भनिएको छ । बोर्डको फिट र व्यापारको उद्धेश्यको आधारमा वडाले राजस्व लिन्छ । बोर्ड वर्षैपिच्छे नवीकरण पनि गर्नुपर्छ । तर, अहिले प्राइभेट अफिस खोल्न, बिजनेस व्यापार गर्नेहरुले वडामा दर्ता नै नगरिकन आफूखुसी बोर्ड राखेको छ ।

वडालाई कुनै खबर नै नदिई केही सम्झौता नै नगरि उनीहरुले बोर्ड राखेको पाइन्छ । वडामा दर्ता गरेर बोर्ड राखेको व्यापार व्यवसायीले पनि नवीकरण गराएको छैनन् । राज्य अहिलेपनि राजस्वविहीन छ । एकातिर राज्यले राजस्व पाएको छैन् अर्कोतिर जोखिमपूर्ण रुपमा बोर्ड झुण्ड्याएको छ । व्यवस्थित रुपमा बोर्ड टाँगिएको कमै मात्रै भेटिन्छन् । कतिपयले किला ठोकेर झुण्डाएका छन् भने कतिपयले डोरीले बाँधेको भेटिन्छ । हावाहुरी लाग्दा ती बोर्ड अति नै खतरापूर्ण हुन्छन् भने सामान्य बेलामा पनि उक्त बोर्ड कतिखेर खसेर मान्छेको टाउकोमा लाग्ने हो अत्तोपत्तो छैन् ।

वडा र महानगरपालिकाले यसविषयमा खासै चासो देखाएको छ जस्तो लाग्दैन । यी निकायहरु अनुगमनमा निस्किएको कहिल्यै पनि देखिँदैन । अनुगमन नहुँदा राजस्व तिरेको छ कि छैन भन्नेबारे केही थाहा हुँदैन । जोखिमपूर्ण तवरले बोर्ड झुण्ड्याउँदा हुने खतराबारे ज्ञान हुँदाहुँदै पनि वडा र महानगर मौन छ । अव्यवस्थित रुपमा होर्टिङ बोर्ड राख्ने अनुमति दिँदा राजधानीको सौन्दर्यतामाथि ह्रास आएको छ । कतिपय घरधनीले आफैँले राखेको पसलको दर्तासमेत गराएको छैनन् । मेरो घर म जेसुकै गरुँ भन्ने उनीहरुको मान्यता छ । तर, यसको असर त राजस्वमा परेको छ । व्यापार गर्नेले गरिरहेको छन्, कमाइरहेका छन् । तथापि, राज्य अझै पनि हेरेको हे-यै छ ।

आफ्नो शोकको लागि कतिपय घरधनीले कौसी खेती गरेको छन् । छतको डिलमा राखिएको गमलाले पैदल यात्री घाइते बनेका छन् । व्यवस्थित रूपमा गमला नराख्दा पैदल यात्रीलाई खतरा छ । यसमा पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । छतमा गमला राख्नबाट रोक लगाउनुपर्छ । पछिल्लो समय काठमाडौंमा बनेको घरहरु सबै अव्यवस्थित छन् । घर बनाएको छ, तर पानी जाने ढलको व्यवस्था छैन । भन्नलाई काठमाडौंमा घर छ, आकाशबाट परेको पानी सबै फुट्पाथमा ल्याएर पोख्छन् । पाइप लगाएर ढलसम्म पु-याउनुपर्ने पानी पैसाको खर्च हुन्छ भनेर बाटोमा फयाँक्छन् ।

माथिबाट पानी खस्दा सडक पिच पनि बिग्रिन्छ । यता, बाटो हिँडिरहेको पैदल यात्रीको लुगा सबै निथ्रूक्कै हुन्छ । यस्तो विषयमा वडा चुपचाप छ । न उसले अनुगमन गर्छ, न कारबाही । घरधनीको लापरबाही सरकारी सम्पत्ति पनि बिग्रियो, बाटो हिँड्ने पनि दुःख पाए । केही वर्षअगाडि हुरी बतास आँउदाखेरि हाेर्डिङ्ग बाेर्ड र छतको गमला खसेर केही घाइते भएका थिए । त्यसैगरी, कतिपयले ज्यान गुमाएको उदाहरण पनि छन् । विकासको नाममा राजधानीमा विनासबाहेक केही भएको छैन । ठेकेदारहरुको लापरबाहीले कतिपय बालबच्चाको पनि ज्यान गयो । विभिन्न विभागले काम लगाउँछ तर काम कस्तो भएको छ ? सम्पूर्ण काम भएको छ कि छैन् ? यो हेर्दैनन् । जसको कारण खनेको ढलमा परेको बालबच्चासहित अन्यको ज्यान गएको छ । नाली पनि खुला छोड्ने गरिएको छ । मुलुकभरको जनसंख्याको अनुपातमा काठमाडौंमा धेरै जनसंख्या छ । विज्ञहरुले भनेअनुसार काठमाडौं बस्नको लागि सुरक्षित छैन् । यहाँ धेरै लापरबाही हुन्छ । विकासको नाममा मान्छे मार्ने काम मात्र भइरहेको छ ।

काठमाडौंमा बस्ने हरेक नेपालीले ग्यासबाट खाना पकाउँछन् । एउटा घरमा २० वटासम्म कोठा छन् । कोठापिच्छे ग्यासको सिलिण्डर हुन्छ । केही कारणबस् खाना पकाउने ग्यासको सिलिण्डर पड्कियो भने त्योबाट धेरै क्षति हुने सम्भावना छ । हामीले बाल्ने बत्ती पनि कुन बेला सर्ट हुने हो थाहा छैन् । योबाट पनि ठूलो जोखिम छ । विद्युत सर्ट भएकै कारण भीषण आगजनी हुने गरेको छ । टेलिफोन, विद्युत, इन्टरनेट, केबल कम्पनीले आफू त पैसा कमाइरहेका छन् । तर, उनीहरुले व्यवस्थित तवरले तार राखेको छैनन् । बाटोमा जथाभावी लत्रिएका तारले गर्दा ठूलो क्षति हुने निश्चित छ ।

यी कम्पनीले टेलिफोन, विद्युत, इन्टरनेट, केबल बेचेर आफू कमाउने तर जनताचाहिँ दुर्घटनामा परेर मरिदिनुपर्ने ? सहरको सुन्दरतामा हस ल्याउने पनि यिनै कम्पनी हुन् । काठमाडौंमा पछिल्लो समय भएको विकासः घर बनाउने, बाटो नछोड्ने । घर बनाउँछन् तर मोटरसाइकल पनि नछिर्ने बाटो बनाउँछन् । केही कारणबस् आगजनी भयो भने त्यतिखेरको अवस्था के हुन्छ ? अकल्पनिय छ । दमकल नै नछिर्ने खालका विकास के काम ? दमकल छिर्न कति बाटो चाहिन्छ ? यसको सोचविचार गरेर त घर बनाउनुपर्छ । एउटा घरमा आगजनी हुँदा पुरा बस्ती नै सोत्तर हुन्छ । यसमा सरकारको पनि धेरै लापरबाही छ ।

थोरै जग्गामा घर बनाउन सरकारले छुट दिएको छ । काठमाडौंको अधिकांश घर जोडेर बनाइएको छ । खाली ठाउँ अलिकति पनि छोडेको छैन । सानो बाटोमा नक्सा पास भइरहेको छ । पहिलेपहिले दाउरामा खाना पकाइन्थ्यो । दाउरामा आगो लाग्यो भने एक बाल्टिन पानी हाल्दा निभ्छ । तर, एउटा ग्यास पड्कियो भने पुरै बस्ती नै सिद्धिन्छ । ग्यास अति नै जाखिमपूर्ण वस्तु हो । ग्यास बाल्नेहरु अहिले हो कि भरे भन्ने थाहा हुँदैन् । कतिखेर ग्यास पड्किने हो यसको चिन्तामा बस्नुपर्ने बाध्यता छ । भारतले नेपालको खेतीयोग्य जमिन सबै सिद्धयाइसक्यो । नेपालीको भान्सामा भारतबाट आएको चीजबीज पाक्छ ।

यस्तो जोखिमपूर्ण ग्यास पनि भारतबाटै आउँछ । यता, नेपाल सरकार पनि गएगुज्रिएको छ । सरकारी गाडी किन्नको लागि लाखदेखि करोडसम्म खर्च गरिन्छ । तर, दमकल किन्न बजेट छुट्याउन नेपाल सरकारलाई लोभ लाग्छ । सरकारी कर्मचारी चाहे हिँड्ने आऊन् कि बसमा कसलाई मतलब । हामीलाई उनीहरुले गर्ने कामसंग मात्र मतलब । काम गरेबापत उनीहरुले तलबभत्ता पाएका छन् । सरकारले प्रत्येक वडामा दमकलको व्यवस्था मिलाउने हो भने आगलाग भएको बेला ठूलो राहत हुन्छ । छिटोभन्दा छिटो आगोलाई नियन्त्रणमा लिन सकिन्छ । नेपालमा जतिपनि दमकल छन् तीमध्ये आधा त बिग्रिएर थन्किएको छन् ।

बेलैमा मर्मतसम्भार नगर्दा भएाको दमकलजति सबै थोत्रा, कबाडी बनेका छन् । बाँकी सबै दमकलले थोरै मात्र पानी बोक्छ । भारत सरकारले नेपाललाई एम्बुलेन्स सहयोग ग-याे तर दमकल एउटा पनि सहयोग गरेको छैन । नेपाल सरकारले पनि दमकल किन्नलाई चासो दिँदैन ।

ग्यास पड्केर र आगजनी भएर कुनबेला नेपालीको प्राणन्त हुने हो यसको ठेगान छैन । यसलाई न्युनिकरण गर्न सरकारले तारहरु व्यवस्थित गर्नुप-याे । ग्यास कम्पनीले बेचिरहेका थोत्रा सिलिण्डरहरुमा प्रतिबन्ध लगाउनुप-याे । हाेर्डिङ्ग बाेर्ड राख्नलाई रोक लगाउनुपर्छ । बाटोपनि फराकिलो निर्माणमा जोड दिनुपर्छ । ग्यास र विद्युतबाट हुने दुर्घटनाबाट बच्न सरकारले जनचेतना फैलाउनुपर्छ । कसैको लापरबाहीले कसैले ज्यान गुमाउन नपरोस् ।

तपाईँको मत