अर्थतन्त्र

बैंकहरूकाे निक्षेप र कर्जा दुबै बढ्याे, ७५० तहमा वाणिज्य बैंक, पुनरकर्जा रु.१५८ अर्ब ३८ करोड

काठमाडाैँ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग, बालुवाटार, काठमाडौँले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको तथ्याङ्कमा आधारित) सार्वजिनक गरेकाे छ ।

सार्वजनिक तथ्यांकमा बैंकहरूकाे निक्षेप र कर्जा दुबै बढेकाे छ भने पुनरकर्जा रु.१५८ अर्ब ३८ करोड लगानी देखिएकाे छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.५ प्रतिशतले बढेको छ ।

२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३०.३ प्रतिशत र ५४.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको
सोही अवधिमा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३३.६ प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो ।

२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९.२ प्रतिशत रहेको छ । २०७७ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४२.५ प्रतिशत रहेको थियो ।

यसरी नै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २८.० प्रतिशतले बढेको बैंकले बताएकाे छ ।

उसका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २१.० प्रतिशतले बढेको छ ।

२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाकोअनुपात क्रमशः ६६.३ प्रतिशत र १२.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १३.० प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १२.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

यसरी नै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १०.० प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१.१ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १०.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२.८ प्रतिशतले र हायर पर्चेज कर्जा ४.९ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा १४.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ६.२ प्रतिशतले घटेको छ ।

७५० तहमा वाणिज्य बैंक

नेपाल राष्ट्र बैंकका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७८ पुससम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७७ पुससम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ पुस मसान्तमा १२९ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १०,६८३ रहेकोमा २०७८ पुस मसान्तमा ११,२१५ पुगेको छ ।

पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा

राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ पुस मसान्तमा रु.१५८ अर्ब ३८ करोड लगानीमा रहेको छ ।

२०७८ पुस मसान्तसम्ममा १ लाख ४० हजार ५२१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१३ अर्ब ५८ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५७ हजार ६२६ ऋणीलाई प्रवाह भएको रु.१३६ अर्ब १ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८० हजार ६१ महिला उद्यमीलाई प्रवाह भएको रु.७३ अर्ब ८५ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८३४ ऋणीको रु.३ अर्ब ७२ करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ पुस मसान्तसम्ममा रु.१ अर्ब १३ करोड स्वीकृत भएको बैंकले जनाएकाे छ ।

पूर्ण तथ्यांक यहाँ पढ्नुहाेस्ः

गाउँ सहर संवाददाता

तपाईँको मत