समाज

नक्कली पीसीआर रिपोर्ट बनाउने चार जना पक्राउ, प्रति व्यक्ति १० हजारसम्म लिन्थे

काठमाडाैं । प्रहरीले स्वाब नै नलिई नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारीलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि ती अस्पतालबाट स्वाबको नमूनासमेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाउने काम भएको महाशाखाले जनाएको छ ।

कान्तिपुर अस्पतालको परिचयपत्र बोकेका धनुषाको छिरेश्वर नपा १ घर भई हाल गौशाला बस्दै आएका २५ वर्षीय नागेन्द्र यादव र काभ्रेको तेमाल गाउँपालिका ५ घर भई हाल भक्तपुरको सूर्यविनायक नपा ५ सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनाली तथा सर्लाहीको बलरा नपा ७ घर भई हाल मध्यपुर थिमिको कौशलटार बस्ने नागरिक अस्पतालका ल्याब प्रवन्धक २४ वर्षीय प्रशन्नकुमार झा र कर्मचारी धनुषाको विदेह नपा ४ घर भई हाल ललितपुरको ग्वार्को बस्दै आएका २५ वर्षीय रोशनकुमार छिट्टानलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटरलगायत उपकरण पनि नियन्त्रणमा लिइएको छ । दुवै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको महाशाखाले जनाएको छ । दुवै अस्पतालका पीसीआर ल्याब सिल गरिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती अस्पतालका ल्याबहरूले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिना नै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको पाइएको छ । ती ल्याबहरूमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ । कतिपय पीसीआर पोजिटिभ देखिएका स्याम्पलहरूको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएको पनि प्रहरीले जनाएको छ ।

ती अस्पतालले केही बिचौलियाहरूलाई अस्पतालको कर्मचारी भनी परिचयपत्र समेत बनाई दिई सामूहिक स्वाब संकलन गरेको भेटिएको महाशाखाले जनाएको छ । बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रति व्यक्ति १० हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ । ती रिपोर्ट क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको पाइएको छ ।

महानगरीय अपराध महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले अनुसार वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई आवश्यक पर्ने पीसीआर रिपोर्ट सरकारले तोकेभन्दा अत्यधिक बढी शुल्क लिई स्वाबको नमुनासमेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाइदिने गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

उक्त सूचनाको आधारमा मंगलबार नागरिक अस्पतालका कर्मचारी छिट्टानलाई अस्पतालबाट जारी भएको ८ थान नक्कली पीसीआर रिपोर्टसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पक्राउ गरिएको उनले बताए । छिट्टानपछि नागरिक अस्पतालका ल्याब प्रवन्धक झालाई नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै सोही दिन कान्तिपुर अस्पतालको परिचयपत्र बोकेका नागेन्द्र यादवलाई समेत १७ थान नक्कली पीसीआर रिपोर्टसहित अस्पताल अगाडिबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

प्रहरीले दुइटै अस्पतालको ल्याब बन्द गरेको छ । प्रहरीले पक्राउ गरेका चार जनाको साथबाट पीसीआर रिपोर्ट जेनेरट गर्न प्रयोग भएको कम्प्युटर मनिटर एकथान, ल्यापटप एकथान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिस्टर्ड, नक्कली पीसीआर रिपोर्ट र रसिद प्यायड तथा मोबाइल ५ थान बरामद गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत