काेराेना सङ्क्रमण दर गुणात्मक रुपमा फैलियाे, अधिकांश बिरामीलाई अक्सिजनको आवश्यक नपर्ने
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | १५:५७:०० मा प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लाे समय देखा परेकाे ओमिक्रोन भेरियन्ट भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने जनाइएकाे छ । भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन् ।
अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढे पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताएकी छन् ।
“अहिले अस्पतालमा उपचार गर्न आएका सङ्क्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन”, उनले भनिन्, “६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता परेको छैन ।” सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखिएको छ ।
उनका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष (आइसियु) मा अक्सिजन दिई उपचार गरिएको छ । नौ जना हाई डिपडेन्सी कक्ष (एचडीयु) मा उपचार भइरहेको छ । डा. रावलका अनुसार अस्पतालमा भर्ना भएको अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्ने जस्ता समस्या देखिएका छन् ।
ओमिक्रोन भेरियन्टले मानिसको माथिल्लो स्वासप्रस्वास नलिमा सङ्क्रमण गराई स्वासप्रस्वास गर्नमा समस्या गराउने गर्दछ । डेल्टा भेरियन्टले तल्लो स्वासप्रस्वास नलि वा फोक्सामा सङ्क्रमण गराउने गर्दथ्यो । टेकु अस्पतालमा पुस २९ गते १५ जना बिरामी आएकामध्ये १० जनालाई कोभिड–१९ सङ्क्रमण भएको थियो । अस्पतालमा १०० शय्यासहित २४ आइसियु रहेको छ । अस्पतालका निर्देशक डा रावलले सङ्क्रमित बढिरहेकाले अबको दुई हप्ता चुनौतीपूर्ण रहेको बताइन् । “ओमिक्रोन भेरियन्टले कस्तो रुप लिन्छ । त्यसैको आधारमा अबको दुई हप्ता चुनौतीपूर्ण हुने देखिन्छ”, उनले भनिन् ।
सशस्त्र प्रहरी बल अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेका छन् । अहिले अस्पतालमा ५५ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका डा प्रविन नेपालले पनि अहिले भर्ना भएका धेरै बिरामीलाई अक्सिजन नचाहिएको बताइन् । “दोस्रो लहरको जस्ता अहिले देखिएका सङ्क्रमितलाई अक्सिजन चाहिएको छैन”, उनले भनिन्, “भर्ना भएका १५ प्रतिशत बिरामीलाई मात्र अक्सिजन दिएर उपचार गरिरहेका छौँ ।”
हालका सङ्क्रमितलाई घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा विगत २४ घण्टामा १४ जना बिरामी भर्ना भएका छन् । अस्पतालका प्रमुख डा भूपेन्द्र वस्नेतले सङ्क्रमण बढेसँगै सङ्क्रमित पनि भर्ना हुन आउने क्रम बढेकाे छ । अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये नौ जना आइसियुमा उपचार भइरहेको छ, उनले बताइन् ।
उनले अहिलेसम्म भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपरेको बताइन् । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने गरेकाे चिकित्सकले जानकारी दिएका छन् ।
ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई सङ्क्रामक बनाउने पनि चिकित्सकले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस