राजनीति

पाँच दलिय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति

काठमाडाैं । पाँच दलिय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ । सोमबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँडमा सहमति जुटाएको हो ।

कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको सहभागी एक नेताले बताए । मनोनीततर्फ एक जनामा भने कसलाई पठाउने भन्नेबारे सहमति नभएको उनले बताए ।

राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल ६ वर्ष । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्का दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ ।

ती १९ पदमा हाल नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्य छन् । राष्ट्रियसभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश १ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको छ ।

यो निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेशसभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन् । आयोगका अनुसार सात प्रदेशमा मतदानस्थल समेत तोकिसकिएको छ ।

प्रदेश नं. १ मा २ वटा मतदान स्थल तोकिएका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालामा मतदान हुनेछ भने यहाँ मतदाताको संख्या २६४ छ । प्रदेश २ मा महेन्द्रनारायण निधि भवनलाई मतदान केन्द्र तोकिएको छ भने यहाँ ३७२ मतदाता छन् ।

वाग्मती प्रदेशमा हेटौंडाको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान केन्द्र तोकिएको छ भने यहाँ ३४६ मतदाता छन् । गण्डकीमा मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय पोखरा र मतदाताको संख्या २२९ छ ।

त्यस्तै, लुम्बिनीमा २९६ जना मतदाता छन् भने दाङको कर्मचारी मिलन केन्द्र भवनमा मतदान केन्द्र तोकिएको छ ।

कर्णालीमा १९१ मतदाता छन् । यहाँको मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय सुर्खेत हो । सुदूरपश्चिममा २२७ जना मतदाता छन् भने प्रदेशसभा भवनलाई मतदानस्थल तोकिएको छ ।

यसपटक प्रदेश १ बाट परशुराम मेघी गुरुङ र नैनकला दाहाल, प्रदेश २ बाट सुमन प्याकुरेल र शशीकला दाहाल, वाग्मतीबाट राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीबाट दिनानाथ शर्मा र शान्तिकुमारी बीसी, लुम्बिनीबाट चन्द्रबहादुर खड्का र कोमल वली, कर्णालीबाट खगेन्द्र पुरी र कविता बोगटी तथा सुदूरपश्चिमबाट शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिँदैछ ।

समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विक, सुदूरपश्चिमबाट चक्रप्रताप स्नेही र लुम्बिनीबाट रामलखन चमार तथा अपाङ्गता वा अल्पसंख्यकतर्फ कर्णालीबाट जीवन बुढा र प्रदेश १ बाट अगम वान्तवाको पदावधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पदावधि पनि यसैपटक सकिँदैछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत