राजनीति

काँग्रेसको सभापतिका लागि १० जनाकाे दावी

काठमाडाैं । शुक्रबारबाट सुरु हुने १४अाैं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेपाली काँग्रेसले जनाएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्य गरिएको छ भने अन्य प्रकारका रोगका लागि पनि महाधिवेशनस्थलमै हेल्थडेस्क स्थापना गरिने पनि प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

महाधिवेशनकै लागि निर्वाचन समितिले पनि पहिलो चरणको काम सकिएको जनाएको छ । समितिका संयोजक गोपालकृष्ण घिमिरेले एक सय ६० वटा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

घिमिरेले महाधिवेशनअघि प्रदेश २ को प्रदेश अधिवेशन नहुने बताए । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि मात्रै गर्ने गरि कार्यतालिका सार्वजनिक गरिने उनको भनाइ छ । तर जिल्ला अधिवेशनका लागि भने कार्यतालिका सार्वजनिक भइसकेको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले आजसम्ममा सर्लाही र महोत्तरीको महाधिवेशन प्रतिनिधिको नामावली आइसक्ने बताए ।

पर्सिबाट सुरु हुने नेपाली काँग्रेसको महाधिवेशनमा सभापतिका लागि १० जना नेताले आकाङ्क्षा देखाएका छन् । त्यसअनुसार नेताहरू सहमति खोज्न बैठक र छलफलमा छन् । सभापतिमा आउन इच्छुक मध्येका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमति हुँदा आफ्नो बिचार समूहका अरु नेतालाई सभापतिको उमेद्वार मान्न तयार रहेको बताएका छन् ।

काँग्रेसको नेतृत्वले राष्ट्रलाई प्रगति दिन सक्नुपर्ने, पार्टीलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउनुपर्ने भएपनि वर्तमान सभापति शेरबहादुर देउवाले गर्न नसकेको पौडेलको भनाइ छ । दलदलमा फसेको काँग्रेस पार्टीलाई मुक्ति दिलाउने, आउँदो चुनावमा पार्टीलाई सबै तहमा विजयी गराउने आफ्नो योजना रहेको पौडेलले जनाए ।

आफूले सामुहिकतामा विश्वास गर्ने भएकाले सहमती र छलफलको प्रयास भइरहेको उनको भनाइ छ । वर्तमान सभापतिका विश्वास पात्र भनिएका नेता वीमलेन्द्र निधि पनि सभापतिको उम्मेदवारी दिने तयारीमा छन् । उनले नेपाली काँग्रेस पार्टीको नेतृत्व दोस्रो पुस्ताले गर्नुपर्ने बताउँदै पार्टी भित्रको गुट उपगुटको अन्त्य गर्ने योजना रहेको बताए ।

सभापति देउवाले नेता कृष्ण सिटौला समूहको सहायतामा सभापतिमै उम्मेदवारी दिने तयारी गरेको चर्चा भइरहेको छ । तर वरिष्ठ नेता पौडेल समूहमा सहमति नहुँदै नेता प्रकाशमान सिंहले सभापतिको चुनावका लागि भन्दै हिजो सम्पर्क कार्यालय खोलेका थिए । आफुले पार्टीको सबै तहमा रहेर काम गरिसकेकाले पार्टीको सभापति पदका लागी योग्य भएको बताए । काँग्रेसको चौधौँ महाधिवेशनका लागि पदाधिकारी, केन्द्रीय सदस्य लगायतका पदका लागि पनि अरु नेताहरूले उम्मेदवारी दिने घोषणको क्रम बढेको छ ।

यस्तै गोपालमान श्रेष्ठ, कल्याण गुरुङ लगायतले पनि सभापतिमा दावी गर्दै आइरहेका छन् । अन्य आकांक्षीहरुको नाम पनि सार्वजनिक हुने क्रम बढीरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत