आजदेखि कांग्रेसकाे प्रदेश अधिवेशन सुरु, संस्थापन र इतर समूहकाे छुट्टाछुट्टै प्यानल
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर बिहीबार, २०७८ | ०९:३०:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबार आजदेखि प्रदेश अधिवेशन सुरु भएको छ । आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने भएको हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्न लागेको हो । मुलुक संघीयतामा गएको ६ वर्ष पुगिसक्दा पनि कांग्रेसले प्रदेश संरचना भने बनाएको थिएन । १४ औं महाधिवेशन अघि कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो । अधिवेशनले सात वटै प्रदेशमा प्रदेश कमिटी चयन गर्नेछ ।
प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र संस्थापन र इतर समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् । प्रदेश एकमा पूर्वमहामन्त्री कृष्णप्राद सिटौलाको उम्मेदवारलाई संस्थापन समूहले समर्थन गरेको छ ।
सिटौला समूहबाट कांग्रेस झापाका पूर्व सभापति उद्धव थापा उम्मेदवार बन्दैछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्य गुरु घिमिरे र प्रदेश एकका संसदीय दलका नेता राजीव कोइराला सभापतिका आकांक्षी छन् ।
प्रदेश दुईमा उम्मेदवारको टुंगो लागिसकेको छैन् । बागमती प्रदेशमा सभापतिका लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन समूहबाट कांग्रेस मकवानपुर सभापति इन्द्र बानियाँ, पौडेल समूहबाट जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधान उम्मेदवार बनेका छन् ।
गण्डकीमा संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पौडेल समूहले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
लुम्बिनीमा संस्थापन समूहबाट सांसद भरत शाह उम्मेदवार बन्दैछन् भने पौडेल समूहले कांग्रेस रोल्पाका पूर्वसभापति अमर पुनलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ । कर्णालीमा संस्थापन समूहले उम्मेदवार टुंग्याइसकेको छैन भने पौडेल समूहबाट नेता भुपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सुदूरपश्चिममा संस्थापन र इतर समूहले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
निर्वाचन समितिका अनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने शनिबार मतदान हुनेछ । प्रदेश अधिवेशनका लागि प्रदेशसभा निर्वाचन समितिबाट निर्वाचित प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस