राजनीति

राप्रपाको महाधिवेशन नजिकिदै जाँदा पार्टीभित्र सरगर्मी, के गर्दैछन् तीन मुख्य नेता ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन नजिकिदै जाँदा पार्टीभित्र सरगर्मी, भेटघाट र छलफल बढीरहेको छ । सहमति र सहकार्यको नाममा दोस्रो, तेस्रो तहका नेताहरुले भूमिका खोज्ने, प्रभाव कायम राख्ने प्रयास जारी राखेका छन् ।

मंसिर ८ गते महाधिवेशन प्रतिनिधि चुन्ने क्रम सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधिको सूची देशभरीबाट केन्द्रमा प्राप्त हुने क्रम जारी छ । यही अवस्थामा अध्यक्ष पदका सशक्त दावेदार पशुपति शम्सेर राणाले तयारीको क्रमलाई तीब्रता दिएका छन् । अर्का दावेदार कमल थापा पनि आन्तरिक छलफलमा छन् । राजेन्द्र लिङदेनले बिहीबार एक कार्यक्रमबीच अध्यक्ष पदको उम्मेद्वार बन्ने औपचारिक घोषणा गरेका छन् । नयाँ पुस्ता भनेर चर्चा गरिएको नेता जयन्त चन्द र विक्रम पाण्डे घोषणा कार्यक्रममा उपस्थित थिएनन् ।

जिल्ला तहको नतिजा
वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न हुँदासम्म राणाको पल्ला भारी देखिएको छ । पार्टी नेतृत्वको दौडमा राणा अग्रपंक्तिमा छन् भने थापा दोस्रो र राजेन्द्र–धवल समूह तेस्रो स्थानमा छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिको नामावली प्राप्त भएसँगै प्रतिष्पर्धाको अंकगणित थप प्रष्ट हुने एक नेताले बताए । यद्यपि महाधिवेशन प्रतिनिधि छनौटको क्रम निर्वाचनभन्दा सहमतिमा सम्पन्न भए यता, प्रतिनिधि छनौटमा पनि जिल्ला नेतृत्वको प्रभाव रहने आंकलन छ ।

सहमतिको प्रयास
हालसम्मको परिदृश्य हेर्दा राप्रपाको नेतृत्वका लागि त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ । तर पनि व्यक्तिगत रुपमा, अनौपचारिक तहमा भेटघाट र छलफल जारी रहेको बताइन्छ । पार्टी सुत्रका अनुसार, सहमति प्रयास टुंगोमा नपुगे पनि यस्ता प्रयास र छलफलहरु जारी छन् ।

राजेन्द्र–धवल समूह पूर्ववत् राप्रपा नेपाल पक्षबाट छुटिएको कारण अध्यक्ष थापा समूहसँग यो समूहको मेल हुने संभावना छैन । यो समूहले थापा पक्षको भारी मत काट्ने स्रोतको दावी छ ।

राप्रपा भित्रको त्रिपक्षीय प्रतिष्पर्धाको केन्द्रमा अध्यक्ष राणा छन् । मेलमिलाप भई हाले थापा पक्षधर र राजेन्द्र–धवल पक्षधरलाई राणा क्याम्पसँग हात मिलाउनुको विकल्प छैन । हाल जारी सहमति प्रयासमा यस्तो छनक देखिएको छ । थापा पक्षधर र विद्रोही राजेन्द्र–धवल पक्षधरहरु राणा समूहलाई विश्वासमा लिन प्रयासरत छन् ।

त्यसकारण अध्यक्ष राणा नेतृत्वमा रहने गरी आम सहमति बने अचम्म मान्न नपर्ने अवस्था छ । अध्यक्षद्वय राणा र डा. प्रकाशचन्द्र लोहनी पूर्ववत् राप्रपा संयुक्त भएको कारण यसै पनि एकसाथ छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत