अर्थतन्त्र

काेभिडले थला परेका ८७.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा, रोजगारीको अवस्थामा सुधार भएकै हाे ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले काेराेनाकाे दाेस्राे लहर र बजार खुलेपछिकाे अवस्थामा अर्थतन्त्रमा सुधार आएकाे बताएकाे छ ।

उसले जारी गरेकाे पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हाे ।

साे सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशत बाट ९७.२ प्रतिशत पुगेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न २०७६ चैत ११ गतेदेखि अवलम्बन गरिएको बन्दाबन्दी लगायतका उपायहरुका कारण आर्थिक क्रियाकलापहरु प्रभावित हुन पुगेकाे र संक्रमण रोकथामका लागि अपनाइएका गैर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरुलाई क्रमशः खुकुलो बनाउँदै लगिएसँगै २०७७ को उत्तरार्धबाट आर्थिक गतिविधि सञ्चालनमा सहजता आएपनि २०७८ बैशाखमा उक्त संक्रमणको दोस्रो लहर शुरु भएसँगै गरिएको संक्रमण रोकथाम र नियन्त्रण विविध उपायका कारण आर्थिक क्रियाकलापहरु पुनः प्रभावित हुन पुगेकाे राष्ट्र बैंकले बताएकाे छ । 

बन्दाबन्दीका कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न बैंकले २०७७ असारमा एक अनलाइन सर्वेक्षण सम्पन्न गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । विभिन्न उद्योग/व्यवसाय सञ्चालन गर्ने साना–ठूला गरी जम्मा ६७४ उद्योग/व्यवसायहरु सर्वेक्षणमा समावेश भएका थिए ।

संक्रमणको दोस्रो लहरपछि कोभिड विरुद्धको खोपको उपलब्धतामा वृद्धि भएसँगै उद्योग व्यवसायको गतिविधिमा पुनः सुधार हुँदै गएको राष्ट्र बैंकले बताएकाे छ ।

सर्वेक्षणमा २०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको छ । गत बैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा २.३ प्रतिशत उद्योग/व्यवसायहरु मात्र सञ्चालन हुन नसकेको पाइएको उल्लेख छ ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग/व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको देखिएको छ । अझैपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा पुग्न नसकेको भएतापनि २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा उद्योग व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ ।

कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात् उक्त संक्रमणविरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भइ पूनरुत्थानउन्मुख रहेको छ । यस परिप्रेक्ष्यमा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्थामा सुधार आइ अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा राष्ट्र बैंकले गरेकाे छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन (पूर्ण पाठ)

गाउँ सहर संवाददाता

तपाईँको मत