गाउँ सहर

न्वागी खानुभयाे ?

काठमाडाैं । भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् ।

ठूला एकादशी सकिएसंगै ठूला चाडवाड लगभग सकिन्छन् । ठूला चाडवाड सकिएपनि गाउँले जीवनमा रंग भर्न ससाना चाड निरन्तर आईरहन्छन् । हेर्दा ससानो तर ठूलै उमंग भित्र्याउने चाडमध्ये एक न्वागी खाने दिनपनि हो ।

न्वागी खानुभन्दा पहिला मुठी लिने चलन हुन्छ । धान काट्नुभन्दा पहिला साईत हेरेर एक मुठी धान काटेर ल्याईन्छ । त्यसैलाई मुठी लिने भनिन्छ । मुठी लिनुअघि मुहाने गरोमा धूपदीप गरिन्छ र धानको गाँज सहित काटेर घरमा ल्याईन्छ ।

न्वागी खाने बेलामा धान पाक्यो भने त नयाँ चामलकै न्वागी खान पाईन्छ । नयाँ धानको चामललाई धेरै बेर भिजाएपछि त्यो नरम बन्छ । काँचै खान सकिन्छ । त्यसमा केरा, दही, सुकमेल, मरिच मिसाएर बनाईने स्वादिलो प्रसाद हो न्वागी । न्वागीसंगै चामलको पातलो रोटीपनि बनाईन्छ । नयाँ चामललाई सिलौटोमा पिसेर, चिनी मोलेर तावामा घ्यू तताएर पातलो रोटी बनाईन्छ । असाध्यै मिठो हुन्छ पातलो रोटी । त्यो दिन सम्भव भएसम्म अक्षता, चरु (होम गर्दा धान, चामल, घ्यू मिसाएर होम्ने), रोटी सबै नयाँ धानकै बनाईन्छ । तर नयाँ धान राम्ररी पाकेन भन नयाँ धान थोरै ल्याएर भकारीमा मिसाईन्छ र काम चलाईन्छ । ढिलो पाक्ने धानका बीउलाई आजकाल छिटोछिटो पाक्ने बीउले बिस्थापित गरिसकेकाले न्वागी खाने बेलामा धान नपाक्ला कि भन्ने पिरलोचाहि खासै छैन ।

न्वागी खाने दिन तेत्तीस कोटी देवता र कुल देवतालाई सम्झेर होम—आहुती गरेपछि पूजा सकिन्छ । पूजाआजा सकिएपछि टिका र तरेखु (चरु होमेपछि डढेर बनेको कालो चीज) लगाईन्छ । त्यसपछि न्वागी र चामलका पातला रोटीको प्रसाद खाईन्छ ।

महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ । कात्तिक शुक्ल एकादशी पर्व (ठूली एकादशी, हरिबोधनी एकादशी) को साङ्गता (समापन) सँगै नयाँ अन्न होमादी गर्दै कात्तिक शुक्ल द्वादशीका दिन न्वागी खाएर (नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा) प्रचलनमा ल्याउने परम्पराअनुसार यो पर्व मनाइएको हो ।

पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपीनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू मान्यता रहँदै आएको छ ।

मुठ्ठी लिने मन्त्र यस्तो छ:अश्मन्न् ऊर्जं पर्वते शिश्रियाणामद्भ्य ओषधीभ्यो वनस्पतिभ्योऽधि संभृताम् ।

तां ना इषं ऊर्जं धत्त मरुतः संरराणा, अश्मंस्ते क्षुत् , मयि ता ऊर्क् , यं द्विष्मस्तं ते शुग् ऋच्छतु..

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत